शिक्षक भर्ना गर्दा पैसाको मोलमोलाई गरेको आरोप

भिमदत्तनगर, माघ ४ । कञ्चनपुरका विभिन्न पाँच विद्यार्थी संगठनहरुले विद्यालयमा शिक्षक भर्ना गर्दा आर्थिक चलखेल हुने गरेको आरोप लगाएका छन्। शिक्षक भर्ना प्रकृयामा प्रधानअध्यापक, स्रोतब्यक्ति, विद्यालय निरीक्षक तथा बिज्ञहरुसमेत मिलाउने गरिएको उनीहरुको आरोप छ ।
शिक्षक भर्ना र सरुवा गर्दा जिल्ला शिक्षा कार्यालयका कर्मचारीको समेत मिलेमतो हुने गरेको विद्यार्थी संगठनहरुको आरोप छ । अखिल(छैठौं) का केन्द्रीय सचिव महेशराज जोशीले जिल्लाभरी नै शिक्षक नियुक्ति गर्दा आर्थिक चलखेल गर्ने गरिएको र शिक्षा कार्यालयको समेत त्यसमा संलग्नता रहने गरेको बताए ।
नेविसंघ, अखिल(छैठौं) र अखिल क्रान्तिकारी विद्यार्थी संगठनका तीनवटा घटकहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी शिक्षक भर्ना गर्दा पैसाको मोलमोलाई भइरहेको बताएका छन्।
विद्यार्थी संगठनहरुले बेदकोट–७ स्थित पशुपति आधारभुत विद्यालयले शिक्षक भर्ना गर्दा सूचना लुकाएर विज्ञापन खोलेको, परीक्षा अगावै प्रश्नपत्र आउट गरेको, उमेरको हदम्याद घटाएर विज्ञापन प्रकाशित गरिएको लगायत अनियमितता भएको बताएका छन् । सो विद्यालयका प्रधानअध्यापकले आफ्नो शिक्षक संगठनको जिल्ला अध्यक्षको मान्छेलाई शिक्षक नियुक्ति गर्न अनियमितता गरेको विद्यार्थी संगठनहरुको आरोप छ ।
विज्ञप्तिमा अनियमितता गर्ने प्रधानअध्यापकलाई कारवाही गर्न बेदकोट नगरपालिका, जिल्ला शिक्षा कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरिएको छ ।









