मुलुकमा लोकतन्त्रको नाममा फासिवाद जन्मदै

असाेज २९, काठमाडाैं । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा देशभक्त गणतान्त्रिक मोर्चामा आबद्ध उम्मेदवारहरुलाई सघाउने निर्णय गरेकाे छ । पार्टीका महासचिव बैद्यले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा देशभक्त गणतान्त्रिक मोर्चामा आबद्ध उम्मेदवारहरुलाई सघाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णयबारे जानकारी दिन आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैद्यले निर्वाचनमा पार्टी आफैले भने उम्मेदवारी नदिने निर्णय लिइएको स्पष्ट पारे । पार्टीले स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दिएको थिएन । वर्तमान सत्ता विरोधी देशभक्त, गणतान्त्रिक मोर्चामा आबद्ध उम्मेदवारहरुलाई चुनावमा सघाई क्रान्तिकारी ढङ्गले उपयोग गर्ने नीति लिने निर्णय गरिएको पनि महासचिव बैद्यले उल्लेख गरे ।

पार्टीले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकीकरणलाई वामपन्थी दलबीचको एकीकरण भन्न नमिल्ने निष्कर्षसमेत निकालेको छ । महासचिव बैद्यले यी २ पार्टी बिच हुने भनिएको एकीकरणलाई दक्षिणपन्थीहरुको प्रतिक्रियावादी करणको संज्ञा दिए । उनले एमाले र माओवादी केन्द्र बाहेकका वामपन्थी दलहरू सच्चा क्रान्तिकारी भएको उल्लेख गर्दै उनीहरूसँग भने एकता प्रक्रियालाई अघि बढाउन पहल गर्ने निर्णय पनि राष्ट्रिय सम्मेलनले गरेको जानकारी दिए ।

गत असोज २२ गतेदेखि २६ गतेसम्म पोखरामा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले मुलुकमा तीन दलीय सिन्डीकेट जन्मिएको तथा लोकतन्त्रको नाममा फासिवाद हुर्कन थालेको निष्कर्ष समेत निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =