आजबाट नेपाल सम्वत् ११३८ शुरु


कार्त्तिक ३, काठमाडौं । आजबाट नेपाल संवत् ११३८ शुरु भएको छ । नेपाल सम्वत्को अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाल सम्वत् विशेष गरी नेवारी समुदायमा बढि प्रचलित छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएको भन्दै यो सम्वत्लाई विशेष रुपमा मनाउन थालिएको हो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको भनिएको छ ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संम्वत्का रुपमा चलेको थियो । त्यस अघि शक संवत प्रचलनमा रहेको संस्कृतिविद्हरुको भनाई छ ।
नेपाल संवतलाई नयाँ वर्षका रुपमा राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, सुनसरी धरान, लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिएको छ ।
२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संम्वत्समेत चलाएको भन्दै साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

वि.सं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दहालले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिने घोषणा गरेका थिए । नेपाल संवत नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात् चन्द्रमासमा आधारित साल हो। नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ। तीन वर्षको एक चोटि अनला महिना अथवा पुरुषोत्तम महिना १३ औँ महिना हुन आउँछ ।
म्हः (आत्म) पूजा
नेपाल सम्वत् आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मन वचन र शरीरलाई शुद्ध गर्न तथा वर्ष भरी जान अञ्जानमा गरिएका पापबाट मोक्ष पाउनका लागि म्हः पुजा गर्ने चलन छ ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण
भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । आज नेवारी समुदायका विभिन्न सामाजिक, धार्मिक संघ संस्थाहरुले देशभर विभिन्न र्याली समेत निकाल्ने गरेका छन् । भने, न्यू दयाँ भिन्तुना भन्दै नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।








