चितवनमा घट्यो धान खेती

किशोर खनाल, भरतपुर । आज असार १५ गते धान दिवस । मानो खाएर मुरी उव्जाउने दिन । यो दिनलाई धान दिवसले मात्र होइन, असार १५ अर्थात् दहीचिउरा खाने दिनले पनि चिनिन्छ । चितवनमा पनि विभिन्न ठाउँमा आज बिहीबार विविध कार्यक्रम गरी धान दिवस मनाइँदैछ ।  जिल्ला कृषि विकास कार्यालय, क्षेत्रीय होटल संघ, रेवान सौराहा, धान व्लग रत्ननगर खैरहनीको संयुक्त आयोजनामा आज बिहीबार बिहान सौराहामा चौंधौँ धान दिवस मनाइँदैछ । ‘दुई बाली धान खेतीको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ चौंधौँ राष्ट्रिय धान दिवस मनाइने जिल्ला कषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नुरनाथ लामिछानेले बताए ।

चितवनमा यस वर्ष धान लगाउने जमिन घट्ने देखिएको छ । माछा पोखरी विस्तार, घडेरीको रुपमा बढ्दो प्लटिङ, तरकारी खेती र केरा खेती विस्तारले गर्दा धान लगाउने जमिन घट्दै गएको प्राविधिक सहायक लामिछानेले बताए । उनले भने, ‘२०७३ सालमा चितवनमा २९ हजार ५०० हेक्टर जमिनमा धान लगाइएको थियो । अहिले ०७४ मा २९ हजार २०० हेक्टरमा धान लगाइने अनुमान गरिएको छ ।’ लामिछानेका अनुसार चितवनमा वर्सेनि धानखेती गर्ने जमिन घट्दै जान्छ । ‘धानको उत्पादन बढ्न सक्छ, तर धान लगाउने जमिन बढ्न सक्दैन’ उनले भने, ‘किसान बढी आम्दानी हुने माछापालन, तरकारीखेतीमा आकर्षित भइरहेका छन् ।’

२०७३ सालमा चितवनमा १ लाख ३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । ०७४ मा १ लाख २५ हजार मेट्रिक टन धान उत्पादन गर्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रवक्ता कमला न्यौपानेले जानकारी दिएन् । उनले भनिन्, ‘०७३ सालमा चितवनमा उत्पादन भएको खाद्यान्नले आफ्नो जिल्लालाई खुवाएर ५ हजार १५० मेटन खाद्यान्न अन्य जिल्ला पठाइएको थियो ।’

‘मनसुन सक्रिय भएको छैन’
असारको आधाआधी सकिँदा पनि अझै मनसुन सक्रिय भएको छैन । गत वर्ष असार आधाआधीमा चितवनमा २० प्रतिशत रोपाइँ भइसकेको थियो । यतिबेलासम्म चितवनमा ८ प्रतिशमात्र रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नुरनाथ लामिछानले यसवर्ष पूर्वीचितवनमा २२ प्रतिशत रोपाइँ सकिएको बताए । उनले भने, ‘पूर्वीचितवनमा बोरिङ, नहरको पानीले रोपाइँ भएको छ, तर पश्चिमचितवनमा भने बीउ राख्ने काममात्र सकिएको छ ।’ उनका अनुसार छिटफुट पानी परे पनि मनसुन सक्रिय भएको छैन । उनले भने, ‘यस वर्ष ढिला गरी मनसुन सक्रिय हुने देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =