नवराज सिलवालले दिए सरकारलाई यस्तो चुनौती !

काठमाडौं, माघ ५ । एमाले सांसद नवराज सिलवालले सरकारले आफुलाई पक्रन दिएको आदेशको डटेर सामना गर्ने बताएका छन् । प्रहरीले जहाँ देख्यो त्यहीं पक्रन मातहतका निकायहरुलाई निर्देशन दिएको खबर सार्वजनिक भएपछि पूर्व प्रहरी नायव महानिरीक्षक सिलवालले आफ्नो ट्विटमार्फत सरकारले नौटकी प्रदर्शन गरेको आरोप समेत लगाएका छन् ।
आफूविरुद्ध राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरिएको भन्दै उनले ट्विटमा लेखेका छन् ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’

यसअघि पनि उनले जनवरी १२ अर्थात पुस २८ गते शुक्रबार एक ट्विट गरेका थिए । उनले ‘नराम्रो मानिसले तपाईंलाई कस्तो व्यवहार गरेका छन्, तर जीवनमा के पर्छ त्यही टेरेर जान्छ’ भनेर ट्विट गरेका थिए ।
यता नेपाल प्रहरीले भने पूर्व डिआइजी सिलवालको खोजी गर्न सातै वटा प्रहरी कार्यालयमा पत्राचार गरेको छ । अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोगको अनुसन्धानका लागि प्रहरीले पूर्वडिआइजी सिलवालको खोजी गरिरहेको छ ।
यता काठमाडौं प्रहरी परिसरले पनि सिलवालको कीर्ते अनुसन्धान जारी राखेको छ । कार्य सम्पादन मूल्याङ्कन फाइल मगाएर अनुसन्धान गरिरहेको हो । सिलवालले कीर्ते गरेको देखिएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गराएर सिलवाललाई फरार अभियुक्त बनाएर खोजी गरिरहेको छ ।








