राणा भर्सेज पूर्व डिआइजी सिलवाल, कसले मार्लान बाजी ?

साहिला ताामाङ, ललितपुर । मङ्सिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य मन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबाट नवराज सिलवालबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै उम्मेदवार जनताका घर दैलोमा पुगेर मत माग्न व्यस्त रहेको दृश्य जो कोहीले सजिलै देख्न सकिन्छ । युवा नेताको अग्रपङ्क्तिमा परिचित राणा काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्षको कार्यभार समेत सम्हाली सकेका अनुभवी व्यक्ति हुन् । शालिन तथा नम्र भाषाका धनी राणाले आफ्नो विजय सुनिश्चित भएको उल्लेख गर्दै जनमानसबाट लोकतान्त्रिक गठबन्धनको साथ पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

वि सं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा जसरी काँग्रेसको पक्षमा जनताले साथ दिएर विजयी गराएका थिए त्यसरी नै मङ्सिरमा हुन लागेको चुनावमा लोकतान्त्रिक गठबन्धनले साथ पाउनेमा आफू विश्वस्त रहेको पनि राणाले बताए ।नेता राणाले लोकतान्त्रिक संविधान काँग्रेसकै नेतृत्वमा निर्माण भएको र चुनाव सम्पन्न भएपछि देशले आर्थिक समृद्धिको गति लिनेछ भन्दै लोकतान्त्रिक शक्तिको विजयले मात्र देशमा विकास र समृद्धि हुनसक्ने दाबी गरे ।

बहुचर्चित कान्तिलोकपथ सडक निर्माण तीव्र गतिले हुनुमा काँग्रेसको नेतृत्वमा भएको र त्यसले प्रत्यक्ष रूपमा राष्ट्र विकासमा थप टेवा पुगेको बताउँदै उनले उक्त सडक काठमाडौंँबाट छोटो दुरीमा हेटाैडासम्म पुग्ने सडकको रूपमा परिचित रहेको छ, सो सडक आगामी दुई वर्षभित्र सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी वाम गठबन्धनबाट मैदानमा उत्रेका प्रहरीका प्रहरी पूर्व नायब महानिरीक्षक सिलवालले यस क्षेत्रको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी सेवामा लामो अनुभव संगालेका सिलवालले आर्थिक तथा सामाजिक रूपले जनतालाई सम्पन्न बनाउन आफू कटिबद्ध रहेको उल्लेख गर्दै मुलुकको आर्थिक संमृद्धि र स्थायीत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

गाउँमै रोजगारी सिर्जना गरेर विदेशिएका युवालाई रोक्नु आजको आवश्यकता भएको बताउँदै उनले भ्रष्टाचारमुक्त नेपाल र हरेक क्षेत्रलाई आर्थिक एव‌ सामाजिक रूपले पारदर्शी बनाउन आफू लागिपर्ने धारणा व्यक्त गरे । प्रहरी सेवामा आफूले न्याय नपाए पनि जनताले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गर्दै सिलवालले जनताको घर आँगनमा मत माग्न आफू आएको बताए । सो क्षेत्रमा एउटा गोदावरी नगरपालिका र वाग्मती, महांकाल तथा कोञ्ज्योसोम गरेर तीनवटा गाउँपालिका छन् । कूल ६५ हजार ९१८ मतदाता रहेका यस क्षेत्रमा पर्ने प्रदेश(क) मा ३२ हजार ८३२ र प्रदेश(ख) मा ३३ हजार ८६ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =