विवाहमा सिन्दुर हाल्ने बेला प्रहरी पुगेपछि

इटहरी । इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छा अनुसार दुवैका परिवार राजी भए अनि इटहरी स्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो । गोडा धुने कार्यक्रम सकिएर सिन्दुर हाल्ने बेलामा विवाह मण्डपमा प्रहरी पुग्यो ।

 मण्डपमा बसेका बेहुला र बेहुली दुवैलाई प्रहरीले इलाका प्रहरी कार्यालय पकली पुर्‍यायो । कारण थियो, बेहुलीको उमेर । २०५७ सालमा जन्मेकी बेहुलीको उमेर नेपालको कानुन अनुसार विवाह गर्न योग्य थिएन । नेपालको कानुनले विवाहका लागि १८ वर्ष उमेर पुग्नुपर्ने जनाउँछ तर विवाहको सबै प्रक्रिया पूरा गरिसकेको परिवार मान्न तयार थिएन । परिणामतः बेहुलीका परिवार र जन्ती प्रहरी कार्यालय घेर्न गए ।

थानामा लामो वादविवादपछि दुवै पक्षलाई राखेर प्रहरीले छलफल चलायो तर बाहिर भीड अनियन्त्रित भयो, भीडले प्रहार गरेको ढुंगा इटहरी उपमहानगरपालिकाका कर्मचारी राजेन्द्र धिमालको हातमा लाग्यो । केही समय तनावको अवस्था उत्पन्न भयो ।

बालविवाह रोक्न लागि पर्ने स्थानीय क्लबका बालबालिका र केही अधिकारकर्मी माथि आक्रोशित समूहले हातपातको प्रयास समेत गरेको अधिकारकर्मी योसा गुरागाईँले बताए । बिहीबार साँझसम्म पनि आक्रोशित समूहले प्रहरी कार्यालय घेरिरहेको थियो । उनीहरूलाई नियन्त्रण गर्न म्यादी प्रहरी खटाइएको थियो । बाहिर निस्कन सकिने अवस्था नै छैन, गुरागाईँले भने ।

प्रहरीले पनि राम्रो भूमिका ननिभाएको आरोप अधिकारकर्मी र बालविवाह रोक्न लागि परेका बालबालिकाको छ । साँझ अबेर मात्र प्रहरीले उजुरी दर्ताका लागि प्रक्रिया अघि बढाएको थियो । विवाह मण्डपबाटै दुलाहा दुलही उठाइएपछि आक्रोशित आफन्तले प्रहरी र अधिकारकर्मीको विरोध गरेका थिए ।

निम्न आर्थिक अवस्थाका बेहुली पक्षले निकै दुःख गरेर विवाह गरेको बेहुलीका आफन्त भीमकुमारी थापाले बताइन । अर्काको गोठालो गरेर खाने परिवारको विवाह भाँडिदा कति समस्या भयो होला, थापाले भनिन, मन पराएरै विवाह गरेका हुन्, अब बेहुलीले आत्महत्या गरी भने को जिम्मेवार हुन्छ ? दुवैबीच लामो समय देखि प्रेम सम्बन्ध रहेको र दुवैले मन पराएर मागी विवाह गरेको उनीहरूका आफन्तले बताएका छन् ।

चार दिदीबहिनी र एउटा भाइ समेतको उक्त परिवारले निकै दुःख गरेर विवाह गरेकाले पक्राउ गर्नु नहुने बताउँदै आफन्तले थाना घेरेका थिए । उमेरै नपुगी विवाह हुन लागेको आरोप लगाउने हो भने पहिला नै भनेको भए हुन्थ्यो नि, बेहुलीकी आफन्त दैयाकुमारी थापाले भनिन, प्रहरी र यहाँका बाठा भनाउँदाले अन्याय गरे । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तिराम कार्कीले बालविवाहको मुद्दा चल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =