माथिल्लो तामाकोशीकाे दुई अर्ब ६४ करोडकाे शेयर अाउँदै

फागुन ४, दाेलखा । स्थानीय जनता र अन्य सर्वसाधारणका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले दुई अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने भएकाे छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो।

धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको छ । आयोजनाले दुई करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई एक अर्ब पाँच करोड रुपैयाँ र अन्य सर्वसाधारणलाई एक अर्ब ५८ करोड रुपैयाँको शेयर दिने कम्पनीले जनाएको छ।

धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ शेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ। आयोजना निर्माणका क्रममा भएको असरका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार शेयर लगानीको अवसर दिइने छ। प्रभावित क्षेत्रले बढी शेयर पाउने सहमति यसअघि नै भइसकेको थियाे ।

पूर्व सहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ। दोलखावासीमध्ये शेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्म दर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा शेयर खरीद गर्न पाउने भएका छन्। त्यसका लागि दोलखा जिल्लावासीले नागरिकताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ।

‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता र ‘क’ वर्गकाले १५० कित्तासम्म शेयर खरीद गर्नसक्ने आयोजनाले जनाएको छ। आयोजनाले यसअघि नै दुई अर्ब ५४ करोड बराबरको शेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ। शेयरका लागि जिविसले तीन वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या दुई लाख ८० हजार ५८४ छ। तामाकोशीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि शेयर खरीद गर्न पाउने व्यवस्था छ।

स्थानीयवासीले न्यूनतम ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ। धितोपत्र ऐन २०७३ अनुसार शेयर खरीद विक्री गर्नका लागि डिम्याट खाता अनिवार्य भएपनि सबैलाई डिम्याट खाताको जानकारी नभएको र खाता खोल्न समय लाग्ने हुँदा त्यहाँका बासिन्दाका लागि बैंक खाता मात्र अनिवार्य गरेर डिम्याट खाता ऐच्छिक गराउन अनुरोध गरेको छ ।

माथिल्लो तामाकोशीको शेयर २०७१ को चैतमा खुलेर पछि विभिन्न कारणले रोकिएको थियो। भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण आयोजना अझ केही समय पर धकेलिने समेत बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =