सामाजिक सुरक्षा, बिर्तामोडको मुख्य समस्याः गुरुङ


झापा जिल्लाको ऐतिहासिक नगरपालिका बिर्तामोडमा चुनावी सरगर्मी चर्कदो छ । असार १४ गते आउन ८ दिन बाँकी रहेको अवस्थामा यहाँका दलहरूलाई चुनावी चटारोले छोएको छ ।
बिर्तामोड नगरपालिकामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादी विचनै त्रिपक्षिय भिडन्त देखिएको छ ।
बिर्तामोडमा नेपाली काँग्रेसबाट मेयरमा जलकुमार गुरुङ, उपमेयरमा पार्वता गिरी नेकपा एमालेबाट मेयरमा ध्रुव शिवाकोटी उपमेयरमा पवित्रा महतरा प्रसार्ईं, माओवादी केन्द्रबाट मेयरमा सिपी कडरिया र उपमेयरमा सरु न्यौपाने तथा राप्रपाबाट भक्ति सिटौला मेयर र लीला अनमोल उपमेयरमा उठेका छन् ।
जलकुमार गुरुङ नेपाल आदिवासी जनजाति महासङ्घ झापाका पूर्व अध्यक्ष तथा झापा फुटबल सङ्घ झापा–११ का अध्यक्ष समेत हुन् । जनजाति महसंघको केन्द्रीय सदस्य समेत रही सकेका गुरुङ बिर्तामोडका तीन दशकदेखिका स्थायी बासिन्दा हुन् ।
स्थानीय स्तरमा हुने विकास निर्माण होस् वा कुनै सामाजिक कार्य जलकुमार गुरुङको सहभागिता नहुने कुरै भएन । विगतमा गरेको समाजसेवा र बिर्तामोड सहरको विकासमा उनले गरेको योगदान नै चुनाव जित्ने आधार हो ।
गुरुङको चुनावी एजेण्डा
२० वर्ष पछि हुन लागेको स्थानीय निकायको चिर्वाचनलाई लिएर यहाँका जनतामा निक्कै उत्साह छ । १४ गतेको निर्वाचनमा सक्रिय सहभागिता जनाएर जनप्रतिनिधी चयन गर्नका लागि जनताहरू ब्यग्र प्रतीक्षामा हुनुहुन्छ ।
विगतका समयमा स्थानीय निकायको निर्वाचन नहुँदा हामीले धेरै समस्याहरू झेलेका छौँ । कर्मचारीहरुले आफ्नो तलब भक्ता पचाउने बाहेक जनभावना अनुसार कुनै कार्य गर्न सकेनन् । यसले बिर्तामोडको विकासमा समेत असर गरेको छ ।
म यो क्षेत्रमा २० वर्षदेखि सक्रिय रहेको छु । यहाँको खानेपानी समितिको अध्यक्ष, फुटबल सङ्घको अध्यक्ष, मेची आँखा हस्पिटलमा समेत रहेर यहाँका हरेक समस्याहरू बुझेको देखेको छु ।
विगतमा यो क्षेत्रका जनताका लागि जे जति काम गर्न सके यस पटकको चुनावमा त्यो योगदानको कदर जनताले गर्नुहुनेछ भन्ने पूर्ण आशा लिएको छु ।
बिर्तामोड पछि बसेको सहर हो । यहाँ चारैतिरका जनताहरू आएर बसेपछि बनेको सहर हो । यहाँको मुख्य समस्या भनेकै सामाजिक सुरक्षा देखिएको छ । यहाँका जनता एक अर्काप्रति त्यत्ति परिचित छैनन् । मेरो मुख्य एजेण्डा भनेकै यहाँका जनतामा सामाजिक चेतना अभिबृद्धि गर्ने, भाईचारा बढाउने, यहाँका विकास निर्माण र सामाजिक सुरक्षामा स्थानीय निकाय–जनतासँगै हुनुपर्छ भन्ने हो ।
विकास निर्माणका कुरा गर्दा हामीले बिर्तामोडलाई व्यवस्थित सफा, हराभरा सहरका रूपमा विकास गर्न जरुरी छ । बढ्दो जनघनत्व, शहरीकरण र औद्योगिकीकरणलाई व्यवस्थित गर्दै टाउन प्लानिङको अवधारणा ल्याउनुपर्छ । यसका लागि मेरो विशेष ध्यान जानेछ । विकास निर्माणमा स्थानीय निकाय र जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोडदिन्छु । फोहरमैला व्यवस्थापन, कृषिको पकेट क्षेत्र, बेरोजगारी समस्या हल गर्न सिपमुलक शिक्षामा जोड दिनेछु ।
विगतमा स्थानीय निकायका कर्मचारीले जनताका समस्या राम्ररी बुझेनन्, सहज रूपमा सेवा प्रदान गरेनन् भन्ने कुरा आएको छ । र, म मेयरमा विजयी भएको अवस्थामा यो समस्यालाई तत्काल समाधान गर्नेछु । स्थानीय निकायका कर्मचारीलाई जनता प्रति जवाफदेही बनाएर नगरपालिकाका काम कारबाही चुस्त दुरुस्त बनाउने छु ।
कुराकानीमा आधारित








