दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनको असर झापामा देखिदै

दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनको असर सिमावर्ती झापाको पर्यटन तथा होटल व्यवसायमा पर्न थालेको छ ।छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै एक साता अघिदेखि जारी आन्दोलनका कारण सीमा नाकाका होटल तथा ट्राभलमा भारतीय ग्राहक र पर्यटकको आगमन ह्वात्तै घटेको हो । सीमामा रहेका करिब ६५ वटा ट्राभल व्यवसायी आवद्घ रहेको जिल्ला ट्राभल संघ झापाका अनुसार अहिले जिल्ला भरिकै ट्राभल व्यवसायीहरुको आर्थिक कारोबार दयनीय छ ।

गोर्खाल्यान्ड आन्दोलनको असर ट्राभल व्यवसायमा प्रत्यक्ष देखिएको व्यवसायीहरु बताउँछन् । अहिले भारतीय पर्यटक नेपाल आउने र नेपाली पर्यटक भारत जाने भन्दा पनि अग्रिम टिकट रद्द गर्ने नै बढि हुने गरेको नेपाल एसोसीयसन टुर्स एण्ड ट्राभल, पूर्वाञ्चल क्षेत्रीय समितिका महासचिव उदयकुमार श्रेष्ठले बताउनु भयो ।
जिल्लाका अधिकांश ट्राभल व्यवसायी भारतीय पर्यटकका भरमा चलेका छन् । सीमावर्ती भारतीय नक्सलवाडी, सिलिगुडी, दार्जिलिङ, खर्साङ, कालिम्पोङ, मिरिक, सिक्किम, कलकत्ता, गुजरात, बम्बई लगायतका ठाउँबाट पर्यटक नेपाल आउने गरेका थिए । तर, आन्दोलन दिन दिनै झन् आक्रमक बन्दैं गएपछि पर्यटकको आवतजावत कम हुँदै गएको व्यवसायीहरूको भनाई रहेको छ । गोर्खाल्यान्ड आन्दोलनले नेपाली होटल व्यवसायीको कारोबार समेत चौपट्ट बनेको क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका महासचिव रामबहादुर तामाङले बताउनु भयो ।
गोरखाल्याण्ड आन्दोलनकै कारण व्यवसायमा ५० देखि ६५ प्रतिशतले गिरावट आएको अधिकाँश व्यवसायीको भनाई छ । ट्राभल र होटलमा हुने व्यापारको कूल कारोबारमध्ये ७० प्रतिशत कारोवार भारतीय ग्राहकसँग हुने बताईएको छ ।








