यु–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी सिनियर टिमको प्रशिक्षणमा

मङ्सिर ४, काठमाडौँ । मलेसियामा सम्पन्न एसिसी यु–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडीले सिनियर टिमको प्रशिक्षणमा स्थान बनाएका छन् । सिनियर टिमका प्रशिक्षक जगत टमाटाका अनुसार एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने तीन जनाले सिनियर टिमको प्रशिक्षण गर्न थालेका छन् । तीन खेलाडीमा ब्याट्सम्यान मोहम्मद आसिफ शेख र अनिलकुमार साह छन् । त्यस्तै, अलराउन्डर रोहितकुमार पौडेलले पनि पहिलो चरणको टिममा स्थान पाएका छन् ।

‘मलेसियामा गरेको प्रदर्शनको आधारमा उनीहरूलाई राष्ट्रिय टिममा स्थान दिएका हौँ । तीनै जनाले आजैबाट प्रशिक्षण थालेका छन्,’ टमाटाले भने । आसिफ यस अघि सिनियर टिमको पहिलो चरणमा परिसकेका खेलाडी हुन् । अनिल र रोहितले भने सिनियर टिममा पहिलो पटक स्थान बनाएका हुन् । राष्ट्रिय टिममा यु-१९ का कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भने यसअघि नै छनोट भइसकेका थिए ।

यसअघि सिनियर टिममा यु–१९ टिमका २ खेलाडीलाई स्थान दिने भनिए पनि मेहबुब आलम बिरामी परेकाले उनको स्थानमा एक जनालाई मौका दिइएको प्रशिक्षक टमाटाले बताए । आलमले अस्वस्थताका कारण टिमबाट नाम फिर्ता लिएका थिए । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएईविरुद्ध हुने सातौँ चरणको खेलका लागि नेपालले दुई साताअघि तयारी सुरु गरेको थियो । पहिलो चरणको तयारीमा २८ जना खेलाडी सहभागी हुने बताइए पनि सुरुवातमा २५ जनाले मात्र प्रशिक्षण गरेका थिए । यु–१९ टिमका ३ जना समावेश भएसँगै अब पहिलो चरणको टिम पूरा भएको छ ।

हङकङविरुद्ध खेलको तयारीका लागि पहिलो चरणमा छानिएका २४ जना पुरानै खेलाडी छन् । टिममा अनिल मण्डलले पुनरागमन गरेका छन् भने ब्याट्सम्यान सिद्धान्त लोहनी पनि राष्ट्रिय टिममा फर्किने भएका छन् । डब्लुसिएल च्याम्पियनसिपको सातौँ चरणमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा प्रतिस्पर्धा हुँदैछ । खेल अबुधावीको शिख जायेद रङ्गशालामा हुनेछ । दुवै टिम डिभिजन–२ मा झरेकाले खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

यस्तो छ पहिलो चरणको टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललितसिंह भण्डारी, सुसन भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, नरेश बुढाऐर, कुशल भुर्तेल, दिलीप नाथ, सौरभ खनाल, अनिल मण्डल, हसिम अन्सारी, विक्रम शोव, सुनिल धमला, शक्ति गौचन, सिद्धान्त लोहनी, मोहम्मद आसिफ शेख, अनिलकुमार साह र रोहितकुमार पौडेल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =