क्षेत्रमै हारेपछि सिटौलाको यो हविगत


काठमाडौं । पार्टीमा आफ्नो हैसियत र प्रभाव देखाउन चौधौं महाधिवेशनबाट तेस्रो धारको जन्म गराएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीति उच्च जोखिममा पुगेको विश्लेषण गर्न थालिएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सिटौलाको निर्वाचन क्षेत्रबाट कांग्रेसले शर्मनाक हार बेहोरेपछि कांग्रेस वृत्तमै उनको राजनीतिक भविष्यको लेखाजोखा गर्न थालिएको छ ।
सिटौलाको निर्वाचन क्षेत्र झापा–४ मा स्थानीय तहको नयाँ संरचनाअनुसार भद्रपुर नगरपालिका, केचनाकवल र हल्दीबारी गाउँपालिका पर्छन् । यी क्षेत्रमा चौधौं महाधिवेशन अघिसम्म सिटौलाकै रवाफ थियो । उनी झापा जाँदा यो क्षेत्रका कांग्रेसीहरु फुलैफुलका गुछ्छा लिएर उनका अघिपछि लाग्थे । अहिले ती कार्यकर्ता भाँडिएका छन् । यो क्षेत्रमा सिटौलाको पत्तासाफ भएको छ ।
पाटीभित्रको युवापुस्तामाझ लोकप्रिय गगन थापालाई साथमा लिएर गत महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर राजनीतिक चातुर्य प्रदर्शन गरेका सिटौलाले महाधिवेशनमा हार बेहोरे पनि त्यसयता पार्टीभित्रका हरेक अवसरमा भागबन्डा दावी गर्दै आएका छन् । पार्टीको केन्द्रीय कमिटीमा मनोनयनदेखि सरकारी नियुक्ति, विभिन्न स्वास्थ्य प्रतिष्ठानमा हुने नियुक्ति, सरकारमा सहभागिता र निर्वाचनमा उम्मेदवार छनोटमा समेत त्यही आधारमा उनले भाग पाउँदै पाएका थिए । त्यति मात्र होइन, पार्टीका भ्रातृ संगठनका अधिवेशन पनि सिटौला समूहलाई भाग नलगाई सम्पन्न भएका थिएनन् । नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सिटौला प्यानलबाटै भिमसेनदास प्रधान मन्त्री समेत भए ।
यसरी पार्टीभित्र भागबण्डा मागेर प्रभाव बढाइरहेको बेला आफ्नै निर्वाचन क्षेत्रमा लज्जास्पद हार बेहोरेपछि सिटौला निकै छट्पटाएको बुझिएको छ । आफ्नो क्षेत्रमा निर्वाचन जिताउन झन्डै १० दिन सिटौला अड्डा जमाएर बसेका थिए । सत्ताको सक्दो दुरूपयोग गरेर कांग्रेस उम्मेदवारलाई जिताउन सबै प्रकारका साम, दाम प्रयोग गर्दा पनि हार्नुपरेपछि सिटौला संकटमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *