चितवनमा हरिबहादुरको ‘किताब यात्रा’ अाइपुग्दा

भरतपुर । कलाकार तथा लेखक हरिवंश आचार्य किताब यात्रा लिएर चितवन आइपुगेका छन् । उनी उपन्यास ‘हरिबहादुर’ लिएर चितवन आइपुगेका हुन् ।

किताब यात्राका लागि प्रकाशक सहितको टोली चितवन आइपुगेकाे छ । जेठ १३ गते पोखराबाट सुरू भएको किताब यात्रा, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी र देवदह हुदै नारायणगढ आइपुगेको हो । कलाकारिता क्षेत्रबाटै ख्याती कमाएका कलाकार आचार्यलाई हेर्नका लागि दर्शकहरूको भीड लागेको थियो । लेखकसँग पुस्तक हस्ताक्षर गर्नका लागि पनि पुस्तक प्रेमीहरू नदी किनारमा उपस्थित भएका थिए ।

पुस्तकमा हस्ताक्षर गर्नका लागि सबै उमेर समुहका पाठकहरू उपस्थिति देखिन्थे । लेखक आचार्यले प्रदर्शनपछि पुस्तक भित्रको छोटो अंश समेत पाठकहरूलाई सुनाएका थिए । नेपाली समाजमा हरिबहादुरहरूको संख्या उल्लेख्य रहेकोले पुस्तक भित्र कुनै न कुनै रूपमा उनीहरूको चरित्र पनि देख्न पाइने उनले बताए ।

उपन्यास भित्रको मुख्यपात्र ‘हरिबहादुर’ संगतका कारण कुख्यात बन्नुपरेको बताउँदै उनले भने, ‘हरिबहादुरले पनि सानै देखि बौद्धिक वातावरण पाएको भए प्रख्यात व्यक्ति बन्न सक्ने थिए ।’ पछिल्लो समय नेपाली राजनीतिमा समेत हरिबहादुरहरूको बिगबिगी रहेकोमा उनले कटाक्ष गरे ।

प्रकाशक फाइनप्रिन्ट बुक्सले आयोजना गरेको उक्त कार्यक्रममा कलाकार तथा लेखक आचार्यले पुस्तकसँगै सम्बन्धित प्रदर्शन देखाएका थिए । उनको प्रदर्शन हेरेर दर्शकहरू पेट मिचीमिची हाँस्न बाध्य भए । प्रदर्शनमा कलाकार तथा लेखक आचार्यलाई सञ्चारकर्मी सुमन कार्कीले साथ दिएका थिए । प्रदर्शनपछि पुस्तक हस्ताक्षर गर्न र लेखकसँग फोटो खिच्नका लागि पाठक तथा शुभ चिन्तकहरूको लामो लाइन लागेको थियो ।

पुस्तकको बिक्री भन्दा पनि नेपाली पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यले ‘हरिबहादुर किताब यात्रा’ आयोजना गरिएको फाइप्रिन्ट बुक्सका प्रमुख अजित बरालले बताए । नेपालमा सबैको भान्छा सम्म पुस्तक पुल्याउने योजना सहित यात्रामा निस्किएको उनको भनाइ छ । हरिवंश आचार्य आफैँमा लोकप्रिय कलाकार भएकोले उनले लेखेका पुस्तक किन्नेहरूमा नयाँ पाठकहरू बढी पाइएको प्रकाशकले जनाएको छ ।

किताब यात्राको चितवन सम्म आइपुग्दा २० हजार प्रति भन्दा बढी पुस्तक बिक्री भएको प्रकाशक बरालले दाबी गरे । यसपछि किताब यात्रा बिर्तामोड, धरान, इटहरी, बिराटनगर हुदै सिन्धुली पुगेर सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =