जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

भरतपुर, माघ ३ । १० औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति चितवन र भरतपुर महानगरपालिका वडा नम्बर ९ को आयोजनामा तेक्वान्दो प्रतियोगिता सुरु भएको हो ।
कृष्ण तामाङ सुमितको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि भरतपुर ९ का वडाध्यक्ष यमलाल कँडेल रहेका थिए । प्रतियोगिताको उद्घाटन वडाध्यक्ष कँडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा उनले खेल मानवस्वास्थ्यको लागि अपरिहार्य भएको बताए । उनले भने, ‘विद्यार्थीहरुले पढाइसँगसँगै खेललाई पनि अघि बढाउनुपर्छ ।’
कार्यक्रममा राप्ती ४ मा रहेको शिवपुरी तेक्वान्दो डोजाङका गणेशबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा गौरीगञ्ज मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णु बास्तोला र श्री वनदेवी मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष शोभाखर कँडेल रहेका थिए ।
प्रतियोगितामा २०० खेलाडी सहभागी भएका राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
खेलाडीलाई बिदाइ
राखेप च्याम्पियनसीपमा चितवनबाट सहभागी हुने ६ जना खेलाडीहरुलाई विदाइ गरिएको छ । राखेप च्याम्पियनसीप माघ ४, ५ र ६ गते धनकुटाको हिलेमा हुँदैछ । चितवनबाट सहभागी हुने खेलाडीहरुमा कुसुम पौडेल, मनिष चौधरी, सिर्जन महतो, साजन तामाङ, सावित्री गुरुङ, आनन्द राई र कमला केसी रहेका छन् ।








