भरतपुर–१९ मा चुनावी सक्रियता बढ्दै

शारदानगर । सर्वोच्च अदालतले पुनः मतदानलाई रोकेपनि भरतपुर वडा नं १९ मा चुनावी सक्रियता बढेको छ । उक्त वडाको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्न मुख्य निर्वाचन अधिकृतलाई जिम्मा दिएको छ भने एमालेले अदालतको फैसला पर्खेको छ । यो बीचमा भरतपुर १९ मा एमालेले पनि चुनावी सक्रियता बढाएको छ । एमालेले घरदैलो अभियान चलाइरहेको छ । एमालेबाट भरतपुर महानगरको मेयरमा देवी ज्ञवालीले उम्मेदवार दिएका छन् ।

एमालेले तीन समूहमा सुरू गरेको घरदैलो अभियानमा जीवनज्योति बुथमा जिल्ला कमिटी सचिवालय सदस्य विष्णुहरि तिवारी, शारदा उच्च मावि बुथको लागि जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा परिचालन विभाग इन्चार्ज प्रकाश ढुंगाना र किरणगंज मावि बुथको लागि जिल्ला कमिटी सदस्य रामजी सापकोटाको नेतृत्वमा टोली परिचालन गरेको छ ।
त्यस्तै भरतपुर महानगरको विवाद अदालत पुगेपछि पुनः चुनाव हुने कि मतगणना हुने भन्ने बारे अन्यौल भए पनि कांग्रेस–माओवादी गठबन्धनकी मेयरकी उम्मेदवार प्रचण्डकी छोरी रेणु दाहालले वडा नम्बर १९ मा पुनः घरैदैलो अभियान सुरू गरेकी छन् ।

अदालतले केही दिन रोके पनि चितवनको वडा नं. १९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले चुनावी अभियान सुरू गरेका हुन् । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि दुबै पार्टीले संयुक्त पार्टी कार्यालय स्थापना गरेर चुनावी अभियान थालेका हुन् । पार्टी कार्यालयको साविकको शारदानगर गाविसका पूर्वअध्यक्ष कांग्रेस नेता आशबहादुर लामाले उद्घाटन गरेका थिए ।

रेणु दाहालले शारदानगर टाउन, बखानपुर र नवबुद्ध टोलका जनतासँग घरघरमा गएर भेटेकी थिइन् । जनतासँगको भेटमा उनीले मत च्यातिनु दुर्भाग्यपूर्ण भए पनि निकास दिनु बाध्यता भएकोले मतदानमा भाग लिएर आफूलाई जिताउन अपिल गरेकी थिइन् । नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले गठबन्धनले जित्ने भएपछि एमालेले तर्सिएर आफूहरुको विरुद्धमा लागेको आरोप लगाए ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मतपत्र च्यात्नेमा एमालेको दोष रहेको भन्दै निर्वाचन मतदाताबीच भ्रम सिर्जना गरेको आरोप लगाए । विगतमा भएका कमजोरी सुधार गरेर विजयी गराउन कार्यकर्तालाई आग्रह गरेका थिए । वडा नम्बर १९ मा वडाध्यक्षसहित सदस्य पदमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सहयोग गर्ने सहमति गरेका छन् । कांग्रेसले मेयरमा माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गर्ने सहमति बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =