खोटाङमा फलफुलको दुई लाख विरुवा वितरण

खोटाङ, साउन १६ । कृषकलाई व्यवसायिक र आधुनिक खेती प्रणालीमा अग्रसर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय खोटाङले यस आर्थिक वर्षमा फलफूलको करिब दुई लाख बिरुवा बितरण गरेको छ ।
कार्यालयले जिल्लाका किसानहरुलाई विभिन्न प्रजातिका एक लाख ९३ हजार ३ सय ४० बिरुवा ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । यो बर्ष अलैंची, सुन्तला, कागती, लिची ,जुनार, आँप, अम्बा र कटहरको बिरुवा बितरण गरिएको कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले बताउनुभयो । अलैंची, सुन्तला, कागती र जुनारमा ५० प्रतिशत अनुदान दिएको कार्यालयले आँप, लिची, अम्बा र कटहरको भने परल मुल्य लिएको यादवको भनाई छ ।
जिल्लामा अलैंची, सुन्तला र कागती उत्पादनका लागि पकेट क्षेत्र मानेर कार्यक्रम सञ्चालन गरिएकाले सोही अनुसार बिरुवासमेत वितरण गरिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लाका फेदी, पाथेका, खार्मी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, सावाकटहरे, डम्र्वखुशिवालय, साउनेचउर लगायतका ठाउँलाई अलैंचीको पकेट क्षेत्र मानिएको छ ।
अधिकांश भूभाग कछाड क्षेत्र रहेको जिल्लाका लामीडाँडा, खार्पा, राजापानी, विजयखर्क, टेम्मा, याम्खा, डाँडागाउँ, डम्र्वखुशिवालय लगायतका ठाउँलाई सुन्तला र कागतीको पकेट क्षेत्र मानिएको छ । ७५ हजार ५ सय ८५ हेक्टर खेतीयोग्य जमिनमध्ये जिल्लामा चार हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिने कार्यालयले जनाएको छ ।








