धरानमा काठसहित एक जना पक्राउ, गाँजा बोकेका दुईवटा बाइक बरामद

धरान, माघ २० । धरान–१७ रेल्वेबाट शुक्रबार राती अबैध काठसहित एक ब्यक्ति पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१७ का इन्द्रबहादुर मगरलाई ६ किवि ८ फुट सालको काठ सहित पक्राउ गरेको हो ।
नयाँ घर निर्माण हुँदा झ्याल ढोकामा प्रयोग हुने साइजको ५ फुट तथा ६ फुटको सालको काठ मगरको घरबाट बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।
डिएसपी पौडेलले काठको मुद्दा भएकोले त्यसलाई बन कार्यालयले हेर्ने भन्दै आज शनिबार विदा भएकोले आइतबार बन कार्यालयमा बुझाइने बताए । पक्राउ परेका मगरले आफु टेम्पो ड्राइभर भएको र आफुलाई कसैले फँसाउन घरमा काठ ल्याएर राखिदिएको बताए ।
यस्तै, विष्णुपादुका भन्ज्याङ हुदै धरान आउने बाटोमा गाँजा बोकेर आउदै गरेको अवस्थामा दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । को ११ प १७१२ र मे ५ प ३१५४ नं. का दुईवटा मोटरसाइकलमा ३ जना रहेको र तीनै जना मोटरसाइकल छोडेर भागेको प्रहरी बताएको छ ।
सादा पोशाकका प्रहरीले ती मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
रातको समयमा भएकोले उनीहरुलाई पक्राउ गर्न तथा पहिचान गर्न नसकेको प्रहरीको भनाइ छ । मे ५ प ३१५४ नं. को मोटरसाइकल दमक–१३ का सुरज श्रेष्ठको नाममा रहेको प्रहरीले पत्ता लगाएको छ भने अर्काे मोटरसाइल कसको हो भनेर आइतबार कोशी अञ्चल यातायात कार्यालयले जानकारी आउने डिएसपी पौडेलले बताए ।








