यती एअरलाईन्स शून्य कार्बनको यात्रातर्फ

काठमाडौं, माघ १५ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को सहभागितामा यती एअरलाईन्सले कार्बन तटस्थ(Carbon Neutral) एअरलाईन्सका रुपमा आफुलाई रुपान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरण, नागरिक समाज र निजी क्षेत्रका संघसंस्थाको उपस्थितिमा भएको एक कार्यक्रमकाबीच यती एअरलाईन्सले विगत एक वर्षमा हरित गृह ग्याँस उत्सर्जन गरेको प्रतिवेदन पेश गर्नुका साथै न्यून कार्बन उत्सर्जन र कार्बन अफसेट(carbon offset)का योजना प्रस्तुत ग¥यो । नेपालको उड्डयन क्षेत्रमा गरेको यस किसिमको पहिलो अभ्यासले हवाईयात्रा, सवारी साधन र वायुसेवासँग सम्बन्धित संचालनबाट उत्सर्जन हुने हरित गृह ग्यांसको अध्ययन गरेको थियो ।
यती एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले प्राधिकरण र युएनडीपीको सहयोगमा यती एअरलाईन्स कार्बन तटस्थताको दिशामा अघि बढ्न सफल भएकोमा खुसी व्यक्त गरे । यस्तो अभ्यास नेपालमा पहिलो भएको ठहर गर्दै न्यून कार्बनपथमा अघि बढेको आफ्नो यात्रामा सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेका छन् ।

युएनडीपीका प्रमुख रेनोड मेयरले यती एअरलाईन्सले आफुलाई जलवायु तटस्थ संस्थाका रुपमा रुपान्तरण गर्ने प्रतिबद्धतालाई स्वागत गर्दै यस कार्यले अन्य कम्पनीहरुलाई पनि दिगो विकासका लक्ष्य प्राप्त गर्ने दिशामा उन्मूख गराउने बताए । प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले यतीको यस कार्यले उड्डयन क्षेत्रलाई वातावरण मैत्री बनाउने तथा हरित गृह ग्याँस कम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धतामा ठोस योगदान पर्याउने उल्लेख गरे ।
कार्यक्रममा सार्वजनिक गरिएको प्रारम्भिक तथ्याङक अनुसार सन् २०१७ मा यती एअरलाईन्सले १८,१३३ टन कार्वन उत्सर्जन गरेको छ । यसको मुख्य श्रोत भनेको एअरलाईन्सको वायुयानहरुले प्रयोग गर्ने ईन्धन नै हो । माथी उल्लेख भएको उत्सर्जनको मात्रा करिब ४ लाख ७० हजार रुख विरुवाले दश बर्षसम्म सिञ्चित गर्ने कार्बन बराबर हुनेछ । अध्ययनले यतीको नयाँ वायुयान थपसँगै गतवर्षभन्दा सन् २०१७ मा प्रति यात्रु ७ प्रतिशत र प्रति कि.मी. ११ प्रतिशत कार्बन उत्सर्जन घटेको ।
प्रमुख कार्यकारी अधिकृत राईका अनुसार यतीले भविष्यमा न्यून कार्बन उत्सर्जन गर्नका लागि कम इन्धन खपत हुने हवाइमार्गसंगै वायुयानमा थप्ने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र वायुयानमा प्रयोग हुने सामानहरुको भार घटाउनेमा जोड दिनेछ । साथै कम गर्न नसकिने कार्बन उत्सर्जनलाई संयुक्त राष्ट्रसंघीय मानयताप्रप्त जलवायु परिवर्तन सम्बन्धी न्यूनीकरण र दिगो विकासका कार्यक्रमबाट कार्बन क्रेडिट खरिद गरेर कार्बन अफसेट गर्ने र २०१८भित्र कार्बन तटस्थ कम्पनीमा रुपान्तरण हुने लक्ष्य लिएको बताए ।








