चोक चोकमा सालिक निर्माण गर्ने की, सहिद पार्क ?

पोखरा लेखनाथ महानगरपालिकाको केन्द्र भागमा पर्ने पृथ्वीचोकको नाम एकाएक फेरिन पुग्यो । पृथ्वीनारायण शाहको सालिक ढालेर नेपालका प्रथम सहिद लखन थापाको सालिक ठड्याएसंगै चोकको नाम ‘लखनचोक’मा परिणत भएको थियो ।

नेपालका राष्ट्र निर्माता पृथ्विनारायण शाह र प्रथम सहिद लखन थापा यो देशका सम्पत्ति भएको कुरामा कँहि कतै दुई मत हुँदैन र हुँनु पनि हुँदैन । पहिलो कुरा सहिदको सम्मान सडकका चोक र गल्लीमा उभ्याउँदै बार्षिकि मनाए जस्तो वर्षमा एकपल्ट माला लगाई दिँदैमा हुँदै हुँदैन । अर्का तिर सहिद साथै राष्ट्रिय बिभुति समेत पछिल्लो समय धर्म वर्ग सम्प्रदायको जस्तो गरेर बहस गरिनु र यसैका लागि एकापसमा बिभाजित हुनु दुखद् पक्ष हो । अब सहिद पार्क निर्माण गरेर अगाडि जाने हो भने यो अभ्यासले पुनः फाटेका मन जोडेर जाने कुराको नेतृत्व गर्ने नै छ ।

विभिन्न क्षेत्रमा समेत सालिक व्यवस्थित गर्नका लागि पार्क निर्माण नभएका होइनन्, तसर्थ सहिद पार्क निर्माणको बहस हाम्रा लागि मात्रै नयाँ स्वाद भने पक्कै होइन । एका तर्फ पार्क बन्ने नबन्ने कुरामा अविश्वास पाल्नेहरुको लर्को लर्किदै जाने र अर्कातिर महानगर प्रमुखको सहिद पार्क बनाउने योजना दू्रत गतिमा अगाडि जान नसक्ने हो भने सालिक बजार तातिरहने नै छ ।

सहिद कसको ?

यति बेला बजारमा सहिद कसको भनेर सोध्ने हो भनेर एक छिन सोचेर जवाफ दिनुपर्ने परिस्थितिको विकास भएको छ । पछिल्लो समय जातियताको सकस चलाएका विभिन्न राजनीतिक दलले यो एजेण्डा छोडेर टाप कसेका छन् । केही जातिबादि नेतृत्वहरु समेत मूल धारमा समाहित भइसकेका छन् । जातियताको नारा लगाउनेहरु एक पछि अर्को थाङनामा पछारिदै छन् । यो थाहा पाउँदा पाउँदै पनि हामीले ‘बिभुति र शहिदहरु राष्ट्रका हुन्’ भनेर दिल खुस पार्न हम्मेहम्मे परेको कुरा भने तितो सत्य नै हो । राष्ट्रको लागि प्राण आहुति दिनेहरुले कसैको व्यक्तिगत खुसीका लागि भन्दा पनि राष्ट्रका लागि प्राण आहुति दिएका हुन । यसर्थ, आफ्नो भोट बैङ्क सहिदलाई बनाउन पहल गर्नु भन्दा सहिदले देखेका सपना पुरा गरी सम्बृद्दिको बाटो तिर अगाडि बढ्न सक्नुपर्छ । फेरि सहिदको इतिहास समाज निर्माणको महत्त्वपूर्ण पाटो पनि हो । यसबारे सबै जानकार हुन पाउनु पर्छ । तसर्थ, सहिदको इतिहास झल्काउने गरी सहिदका शालिकहरु निश्चित स्थानमा व्यवस्थित गर्नु समेत सार्गभिक उपलब्धि ठहरिनेछ ।

कस्तो बनाउने ? कसले बनाइदिने ?

सहिद पार्क बनाउने बारेमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले मुखै खोलिसकेको अवस्थामा यसलाई थप उचाइमा पुर्याउनका लागि यस क्षेत्रका बासिन्दाहरु मन मिलाएर अगाडि बढ्नु आवश्यक छ । पार्क कस्तो बनाउने खुल्ला बहस हुँदा नै उत्कृष्ट पार्क बनाउन सकिन्छ । केवल सालिक मात्र ठड्याउने भन्दा पनि नयाँ पुस्ताले सहिदको इतिहास पार्कमा छिर्दा नै थाहा पाउनुपर्छ । सहिदको इतिहास अध्ययनका लागि प्रशस्त सम्भावना पार्कले खुल्ला गर्न सक्ने हुनुपर्छ । यसका अलावा पार्कलाई प्रविधि मैत्री बनाउनु अर्को समयसँगको यात्रा ठहरिने छ । यी सबै कुरा व्यवस्थापनका लागि महानगरपालिकाको नेतृत्व, समन्वय र पोखरा लेखनाथ बासी सम्पूर्णको हुँदा नै उपलब्धि दिर्घकालको हुनेछ । नत्र सालिक मात्रै उभ्याएर बनमारा हुर्कने परिपाटीको अन्त्य नहुन सक्छ ।

कहाँ बनाउने ?

पोखरा लेखनाथ महानगरपालिकामा सहिद पार्क बनाउँन सकिने प्रशस्त स्थानहरू छन् । सहिद पार्क बनाउँदा अलिक उच्च स्थानमा बनाउँदा पर्यटकले सुन्दर दृश्य अवलोकनको अवसर गुमाउनु पर्दैन । सहिद पार्क बनाउनका लागि आवश्यक जग्गा उपलब्ध हुँन सकेमा सराङकोट, आर्वा, निर्मलपोखरी, अर्मलाकोट, वडा नं. ३१ कोटबारी, लभ्लिहिल परिसर, कार्किडाँडा उपयुक्त स्थान हुन सक्छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ मा यस अघि नै सहिद स्मारक पार्क निर्माणका लागि तत्कालीन विकास समितिका सभापतिद्धारा शिलान्यास गरिसकेको जामुनाबोटको जग्गा समेत उपयुक्त विकल्प हुन सक्छ । तर सहिद स्मारक पार्क कम्तीमा १०० रोपनी वा सो भन्दा बढी क्षेत्रफलमा बनाउँदा अत्याधुनिक र नमुना पार्क बनाउन थप सहयोग पुग्नेछ ।

अन्त्यमा,

भत्काइएको चोकमा सालिक उभियो, अब के हुन्छ ? पृथ्वी चोकमा रहेको आइल्याण्ड सानो पार्दा जति उत्साह थियो जनतामा त्यो उत्साह सालिक पुनः उभिए पछि कम भएको महसुस हुन थालेको छ, तर चोकमा सालिक उभ्याउनु दीर्घकालीन समाधान भने होइन । तर, लखनचोकको हकमा भने एक वर्ष अगाडि नै भएको सम्झौता अनुसार काम भएको पाइएको छ । र, पनि अब पोखरामा सहिद स्मारक पार्क बनाउनु नै उपयुक्त उपाय हो ।

तिमिल्सिना पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =