कालीञ्चोकमा बौलाहा कुकुर आतङ्क, औषधि छैन

कार्तिक १६, चरिकोट । दोलखाको कालीञ्चोक गाउँपालिका–१ बेगुम्पामा बौलाहा कुकुरको टोकाइबाट आठजना स्थानीयबासी घाइते भएका छन् । दिउँसो १ बजेको समयतिर अनायासै आएको कुकुरले टोकेपछि स्थानीय त्रसित भएको स्थानीय बासिन्दा पदम थामीले जानकारी दिए ।

उनका अनुसार साविक कालीञ्चोक–३ का पहलबहादुर विकले पालेको कुकुर केही दिनदेखि हराएको र बुधवार गाउँ छिरेर एकैपटक गाउँका बालबालिका र वृद्धलाई घाइते बनाएको हो । बौलाहा कुकुरको टोकाइबाट घाइते हुनेमा कालीञ्चोक गाउँपालिका–१ का ८५ वर्षीया वृद्ध रत्नमान थामी, आठ वर्षीय तिलक थामी, चार वर्षीया बालिका चन्द्रिका थामी, १९ वर्षीय जीवन थामी, आठ वर्षीय टीकाराम थामी, ३३ वर्षीय कर्णबहादुर थामी, १० वर्षीय राम थामी र छ वर्षीय ताराबहादुर थामी रहेको स्थानीय पदम थामीले जानकारी दिए ।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका बिरामीलाई रेबिज संक्रमण हुने भन्दै सदरमुकाम ल्याउने तयारी भइरहेको जनाइएको छ । स्थानीयले उक्त कुकुरलाई भने नियन्त्रणमा लिएका छन् । स्थानीय स्वास्थ्य संस्थामा रेबिजविरुद्धको सुई अभाव भएपछि बिरामीलाई तत्काल सदरमुकाम लैजान आग्रह गरेको कालीञ्चोक स्वास्थ्य चौकीका इञ्चार्ज अनिलसिंह ठकुरीले जानकारी दिए ।

दोलखाका प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक रामेश्वर कार्कीले घटनाबारे जानकारी प्राप्त नभएको बताउँदै तत्काल उक्त घटनाबारे जानकारी लिई आवश्यक समन्वयन गरेर बिरामीलाई सदरमुकाम झिकाउने बताए ।

उनले तत्काल प्रहरी परिचालन गरी त्यस्ता कुकुरको पहिचान गरी मार्ने अभियान सुरु गर्ने पनि बताए । उक्त गाउँमा यसअघि पनि बौलाहा कुकुरले चारजनालाई टोकेको थियो । उनीहरूको दोलखामा उपचार हुन नसकेपछि राजधानी काठमाडौँ पठाइएको बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =