आज धूमकेतु पृथ्वी नजिक आउँदै

काठमाडौँ । ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिम पटक सोमबार अहिले सम्मकै नजिक आउने भएको छ । यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ ।

क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोल शास्त्रीका लागि पृथ्वी लगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
“यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग १२, १३, ३९, ७८६ किमि (०.८११ खगोलीय एकाइ) को दूरीमा रहनेछ,” अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले पृथ्वीदेखि सूर्यसम्मको दूरीलाई खगोलीय भाषामा १ खगोलीय एकाइ भनिने जानकारी पनि दिनुभयो ।

यस दुर्लभ खगोलीय घटनालाई नजिकबाट हेर्न चाहनेका लागि नासोले सोमबार जेठ २२ गते साँझ अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा निःशुल्क अवलोकनको व्यवस्था गरेको छ । सो अवलोकन कार्यक्रममा पृथ्वीको चन्द्रमा, वृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =