क्यान्सर अस्पताल भरतपुरमा सेल्स सेप्रेटर मेशिन आयो

किशोर खनाल । भरतपुर । क्यान्सर रोगका बिरामीहरूले अबदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाटै थप सेवा पाउने भएका छन् । पिपुल्स् हस्पिटल (चीन) को अन्तर्राष्ट्रिय विभागको सहयोगमा सेल्स सेप्रेटर मेसिन अनुदानमा आएपछि क्यान्सर रोगका बिरामीहरूले थप सेवा पाउने भएका हुन् । उक्त मेशिनको प्रयोगबाट तत्काल मावन शरीरबाट रगत निकालेर कम्प्युटर प्रोसेसिङको आधारमा त्यसमा भएको सेतो रगतको मात्रा (प्लेटेलेट्स्) लाई छुट्याउने काम गर्छ र बाँकी रगत पुनः मानव शरीरमा नै फर्काउने काम गर्छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार क्यान्सर रोगका बिरामीहरूलाई केमोथेरापी गर्दा उनीहरूको शरीरमा सेतो रगतको मात्रा आवश्कता भन्दा कम हुन जान्छ ।

‘अहिलेसम्म भरतपुरमा रहेको रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने प्लेटेलेट्स् बिरामीका लागि पर्याप्त थिएन,’ उनले भने, ‘अब यो मेशिनको प्रयोगबाट लगभग पाँच गुना बढी प्लेटेलेट्स् पाइने भएको छ । साथै मानव शरीरबाट तत्काल निकाल्ने र प्लेटेलेट्स छुट्याइने भएकोले बाँकी रगत पुनः सोही व्यक्तिको शरीरमा पठाउन मिल्ने भएकोले बिरामीका लागि प्रयोगमा नआउने तत्व खेर जाँदैन ।’

सामान्य अवस्थामा अर्थात् स्वस्थ मानिसको शरीरमा एक लाख पचास हजारदेखि चार लाख एमएम क्युभसम्म प्लेटेलेट्सको मात्रा हुने गर्दछ । यदि शरीरमा यसको मात्रा कम भएमा शरीरका जुनकुनै अंगबाट रगत बग्न सक्छ । क्यान्सर रोगको उपचारका क्रममा केमोथेरापी गर्दा यस्तो समस्या धेरै हुने हुँदा यसको रोकथामको लागि अस्पतालमा आएको यो उपकरण बिरामीहरूका लागि अत्यन्तै उपयोगी हुने अस्पतालका कार्यकारी निर्देशक डा आचार्यले बताए ।

‘यो उपकरणको प्रयोगबाट बिरामीहरूले फ्रेस प्लेटेलेट्स पाउँछन्,’ उनले भने, ‘त्यति मात्र होइन, एकजना स्वस्थ मानिसको शरीरबाट निकाल्न मिल्ने जति सेतो रगत पनि निकालेर बिरामीले प्रयोग गर्न पाउँछन् ।’ उनकाअनुसार रक्तसञ्चार केन्द्रमा संकलन भएको रगतबाट सेतो रगतको मात्रा छुट्याउँदा प्रयोगमा आउने सेतो रगत बाहेक रगतमा हुने अन्य तत्वहरू खेर जान्थ्यो । तर, अबदेखि मानिसको शरीरमा भएको सेतो रगत छानेर बाँकी तत्व पनि खेर नजाने भएको छ । मेसिनले मानव शरीरको रगत तानेपछि प्लेटेलेट्स्लाई छानेर अन्य तत्वलाई फेरी शरीरमै पठाइदिने काम गर्दछ ।

यसरी बिरामीले अहिलेसम्म ताजा रगतबाट छुट्याईको प्लेटेलेट्स पाउन सकेका थिएनन् । उपकरणको प्रयोगबाट अस्पतालमा केमोथेरापी गर्ने बिरामीहरूका लागि ठूलो राहत हुने भएको छ । अस्पतालका उपनिर्देशक निर्मल लामिछानेका अनुसार यो उपकरणको प्रयोग गरेर एकजना स्वस्थ मानिसको शरीरबाट पचास हजारदेखि असी हजार एमएम क्युभ प्लेटेलेट्स निकाल्न मिल्छ । जो कि रक्तसञ्चार केन्द्रमा संकलन गरिएको रगतबाट प्लेटेलेट्सको मात्रा जम्मा दश हजारदेखि पन्ध्र हजार एमएम क्युभ मात्रै पाइन्छ ।

क्यान्सर अस्पतालमा यो उपकरण पहिलो पटक भित्रिएको भने होइन । आजभन्दा करिब दश÷बाह्र वर्ष पहिले नै अस्पतालमा यो मेशिन भित्रिएको थियो । केही समय सञ्चालनमा आएर मेशिन बिग्रिएपछि अस्पतालले मर्मत सम्भार गर्न नसक्दा बिरामीहरू यो सेवाबाट बञ्चित भएका थिए । पुरानो मेशिन सञ्चालनमा ल्याउन नसकेपछि अस्पतालले चिनिया सरकारलाई माग गरेको आधारमा यो मेशिन अनुदानमा आएपछि बिरामीले थप सेवा पाउने भएको हो । यो उपकरण अस्पतालको प्याथोलोजी विभागमा राखिएको छ ।

यो प्रविधिको मूल्य के–कति प¥यो भन्ने विषयमा भने अनुदान दिएकाहरूले जानकारी नदिइएका कारण कति पर्छ भन्ने अड्कल नै नभएको अस्पतालले जनाएको छ । यसअघि पनि क्यान्सर अस्पतालमा विभिन्न खालका यन्त्र उपकरणहरू आएका छन् । तर, अस्पतालको व्यवस्थापन कमजोर भएका कारण छिट्टै उक्त उपकरणहरू बिग्रने र बिग्रिएका उपकरणको पनि मर्मत नगर्ने परिपाटी रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा आचार्यले भने विगतका समस्यालाई आगामी दिनहरूमा दोहोरिन नदिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =