वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

काठमाडौं, कात्तिक २९ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन । अख्यियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले बुधबार विहान घुस लिएको उजुरीको आधारमा महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो । अख्यियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृति बल्लभ पौडेल र विभागकै नायव सुब्बा खडगबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको थियो । उनीहरुलाई घुस लिन निर्देशन दिएको खुल्न आएपछि महानिर्देशक पाण्डेलाई पनि बुधबार विहान पक्राउ गरिएको हो ।

यसैबीच पक्राउ परेका महानिर्देशक पाण्डेलाई विशेष अदालतले अनुसन्धानका लागि १ साताको समय दिएको छ । त्यसैगरी विभागका शाखा अधिकृत पौडेल र नायव सुब्बा केसीलाई अनुसन्धानका लागि ८ दिनको समय दिइएको विशेष अदालतका उपरजिष्ट्रार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिनु भयो ।

मंगलबार राति करिव ८ बजे नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पौडेल र केसी १० लाख घुससहित पक्राउ परेका थिए । वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधिन मुद्दा मिलाई दिने भन्दै उक्त रकम लिएको अख्तियारको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । उनीहरुलाई घुस लिन परिचालन गरेको अभियोगमा महानिर्देशक पाण्डेलाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =