पाख्रिबास नगरको विकासका लागि मेरो उम्मेद्वारी

                             वृख राई

स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा धनकुटामा क्रियाशील राजनीतिक दलहरूले जिल्लाको विभिन्न स्थानमा निर्वाचन प्रचार प्रसार कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । यसै बिचमा नेकपा एमालेले पाख्रिबास नगरपालिकाको मेयर पदको टुङ्गो लगाइसकेको छ ।
पाख्रिबास नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका प्रत्यासी उम्मेदवार वृख राईको चर्चा चुलिएको छ । यस अघि ५४ सालको स्थानीय निकायको निर्वाचनमा मुगा गाउँ विकास समिति अध्यक्ष भएर गाउँको विकासमा लागि परेका स्थानीय वृख राईले यस पटकको निर्वाचनमा जितेको खण्डमा पाख्रिबास नगरपालिकालाई विकासका सबै पूर्वाधार सहित आत्मनिर्भर र शिक्षित नगरका रूपमा विकास गर्ने योजना रहेको बताए ।
मेयरका प्रत्यासी राई २०४८ साल देखि नेकपा एमालेको सङ्गठित सदस्यका रूपमा रहेका थिए । हाल पार्टीको जिल्ला कमिटी सचिवालयको बैकल्पिक सङ्गठित सदस्य तथा पाख्रिबास नगरपालिकाको संयोजक भएका कार्य गर्दै आएका छन् । स्थानीय निकायको निर्वाचनमा उनको उम्मेदवारी र योजनाका विषयमा राईसँग गरिएको कुराकानीको संक्षेपः

पाख्रिबास नगरपालिकामा स्थानीय निकायको निर्वाचनको माहौल कत्तिको छ ?

२० वर्ष पछि आएको स्थानीय निकायको निर्वाचन हामी सबैलाई लागेको छ । अझ यस पटक संविधान कार्यान्वयन र नयाँ संरचना अनुसार हुने निर्वाचन भएकोले झनै उत्साह छाएको छ । २० वर्षसम्म स्थानीय निकाय प्रतिनिधि विहिन भएको अवस्थामा यो क्षेत्रको विकासले गति लिन नसकेको तथा जनताले सर्वसुलभ रूपमा आधारभूत सेवा समेत पाउन नसकेको अवस्थामा यो क्षेत्रका जनता र पार्टीका नेता कार्यकर्तामा नयाँ उत्साह छाएको छ । अहिले गाउँ, टोल र नगरमा स्थानीय जनतासँग छलफल गर्दै अगाडी बढेका छौँ ।

यस पटक नगरपालिका भएको पाख्रिबासका समस्याहरू केके देख्नु भएको छ ?

धनकुटा जिल्ला पूर्वी पहाडी क्षेत्रको ऐतिहासिक जिल्ला भएरपनि विकासका दृष्टिकोणले पछाडि नै छ । अझ पाख्रिबास क्षेत्र त अझैपनि विकासमा सामान्य पूर्वाधार पनि पुग्न नसकेको क्षेत्र हो । यहाँ सडक, खानेपानी, विजुलीबत्ति, विद्यालय, स्वास्थ्य संस्था जस्ता आधारभूत सेवा पनि रामरी विकास नभएको अवस्था छ । यो सब हुनुमा यसको भौगोलिक विकटता पनि जिम्मेवार हो । कृषि, पर्यटनका लागि यो क्षेत्रमा अत्यन्तै सम्भावना भए पनि कामहरू भएको छैन । जनता गरिबीको रेखामुखी छन् । परम्परागत कृषि प्रणाली हाबी भएको पाइन्छ ।

तपाईँ विगतमा गाविस अध्यक्ष भइसकेको मान्छे फेरी किन नगरको मेयरमा उठ्दै हुनुहुन्छ ?

मैले ०५४ सालको स्थानीय निकायमा तत्कालीन मुगा गाउँ विकास समितिको अध्यक्ष भएर यो क्षेत्रको विकासमा केही काम गरेको छु । मेरो त्यही कामको मुल्याङकन गरेर नै हो पार्टी र यहाँका जनताले मलाई मेयरमा उठ्नु पर्छ भन्नु भयो । त्यही भएर मैले मेयरमा उम्मेदवारी दिएको हुँ ।

पाख्रिबासको सर्वाङ्गिण विकासमा यहाँले के कस्तो योजना बनाउनु भएको छ ?

पाख्रिबास कृषि, पर्यटनमा धेरै सम्भावना भएको क्षेत्रको हो । मैले नगरपालिकाको विकासका लागि ५ वर्ष भित्र गर्ने सक्ने योजनामा बढी ध्यान दिएको छु । नगरपालिका भित्रका वडाहरुलाई जोड्ने सडकलाई कम्तीमा पक्की सडक बनाउने र अन्य साना सडकलाई केही वर्ष भित्र कालोपत्रे बनाउदै जाने योजना छ । यो क्षेत्र पर्यटनका लागि पनि अत्यन्त सम्भावना भएको क्षेत्र हो । राम्चेडाँडा, भुल्केपानी, घोर्लीखर्क, जौटार, फाङ्दुवा जस्ता क्षेत्र पर्यटनका लागि राम्रा क्षेत्र हुन् । यो क्षेत्रको विकासका लागि योजना छ । आधुनिक कृषि उत्पादन, पशुपालन, फलफुल उत्पादन र दुग्ध उत्पादनका लागि पकेट क्षेत्र बनाएर समुहगत रूपमा जनतालाई नगरपालिकाबाट निब्र्याजी ऋणको व्यवस्था गर्ने छु । नगरको भौतिक पूर्वाधार व्यवस्थापन र निर्माणमा विशेष जोड दिनेछु ।

यो क्षेत्र कृषि उत्पादनमा राम्रो सम्भावना भएरपनि पछाडि पर्नुको कारण के हो ?

मुख्यरुपमा परम्परागत कृषि प्रणालीका कारण यो क्षेत्र कृषि उत्पादनमा धेरै सम्भावना भएर पनि पछि परेको हो । त्यसै गरी अहिलेका युवाहरुमा कामलाई सम्मान नगर्ने संस्कारको विकास भएको छ । उनीहरू एसएलसी पास गरेपछि १५ घण्टा विदेशको मरुभूमीमा पसिना बगाउन तयार हुन्छन् तर, आफ्नै गाउँघरमा आफ्नो हावापानीमा खेतबारीमा सम्मानपूर्वक काम गर्न लाज मान्छन् । यो हामी समाजमा खड्किएको विषय हो । यो संस्कारलाई निराकरण गर्नका लागि परम्परागत कृषि प्रणालीलाई विस्थापित गरी युवाहरूलाई स्वरोजगार बनाउन आधुनिक कृषि प्रणाली लागू गर्ने योजना छ । यसका लागि आदर्शवादी शिक्षा भन्दापनि प्राविधिक शिक्षामा युवाहरूलाई आकर्षित गर्ने कार्यक्रम ल्याउने छु ।

भौगोलिक र आर्थिक क्षेत्रमा पछि परेका जनताको जिवनस्तर उकास्न के गर्नुहुन्छ ?

यसका लागि मैले जुन क्षेत्रमा जे कुराको सम्भावना छ त्यसलाई नै व्यावसायिक गर्दै लाने हो । बाख्रा पालन राम्रो भएको ठाउँमा स्थानीय जनतालाई समुहगत रूपमा निब्र्याजी ऋण दिने, समुहगत रूपमा कृषि खेती गर्ने, तरकारी खेती गराउने, पर्यटकिय क्षेत्रमा होम स्टे सञ्चालन गर्नका लागि अभिप्रेरित गर्ने र युवाहरूलाई विदेश जान रोकी गाउँगाउँमा रोजगारी सृजना गर्न पहल गर्नेछु ।

तपाईँ निर्वाचित भएको अवस्थामा अन्य दल र पार्टीका व्यक्तिहरूसँग कसरी समन्वय गरेर अघि बढ्नु हुन्छ ?

म ०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित हुँदा पनि मैले सबै दललाई मिलाएर लगेको थिएँ । स्थानीय निकायमा निर्वाचित भएपछि म कुनै एउटा पार्टी र सङ्गठनको व्यक्ति हुन्न । म नगरबासीको साझा व्यक्ति भएर काम गर्नेछु । नगरको विकासमा सबै राजनीतिक दल र व्यक्तिहरूसँग हातेमालो गर्नेछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =