रौतहटमा पनि शान्तीपुर्ण मतदान जारी, हाम्रा भन्दा राम्रा छान्दै मतदाता

मंसिर २१, चन्द्रपुर । रौतहट जिल्लामा दोस्रो चरण अन्तरगतको प्रदेशसभा तथा प्रतिनिधी सभाको निर्वाचन भइरहेको छ । मतदान सम्पन्न भएसँगै मतगणना कार्य सुरू हुनेछ । निर्वाचन भएसँगै संविधान कार्यान्वयनको प्रक्रिया अघि बढ्ने छ । यो प्रक्रियाले राजनीतिक रुपमा सचेत नागरिक उत्साहित बनेका छन् । नागरिकले गर्ने सबैभन्दा ठूलो उपहार र दण्ड चुनाव भएकाले पनि आम नागरिकमा उत्साह देखिन्छ ।
मतदातामा खुसी
निर्वाचनमा मतदाताहरुले उत्साहका साथ रौतहटको चन्द्रपुर नगरपालिकामा उम्मेदवारहरूलाई मत दिएका छन् । रौतहटमा भएको मतदान प्रक्रियामा मतदाताहरुले खुशीका साथ मत खसालेका हुन् । निर्वाचनमा स्थानीय मतदाताहरुको उपस्थिति उल्लासमय देखिएको छ । योग्य र क्षमतावान प्रतिनिधि रोजार्इमा परेको मतदाताहरूले बताएका छन् । विकासमा सुस्तता भएको गुनासो भैरहेपनि उम्मेदवार चयन गर्न आम नागरिक निकै खुसी देखिन्छन् । निर्वाचनमा वृद्धवृद्धा, अपांगदेखि युवा मतदाताहरुको बाक्लो उपस्थिति रहेको देखिन्छ ।
दल तथा आफन्तभन्दा माथी उठेर आफ्नो ठाँउको विकास गर्न सक्ने योग्य उम्मेदावरको पक्षमा मत खसालेको मतदान प्रकृयामा सहभागी मतदाताहरूको भनाइ रहेको छ । रौतहटको चार नम्बर क्षेत्रमा प्रजातन्त्र प्राप्ति पछि हुदै आएको निर्वाचनमा कुनैपनि उम्मेदवारले दोहा¥याएर जित हात पार्न सकेका छैनन् । तर, यस पटक निर्वाचनमा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार डाक्टर बंशिधर मिश्र तेस्रो पटक चुनाबी मैदानमा उत्रिएका छन् । उनी ०४८ सालको संसदिय निर्वाचनमा विजयी भएर स्वास्थ्य राज्यमंन्त्रि समेत भैसकेका थिए ।
त्यस्तै, ०७० सालको संबिधान सभाको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका नेपाली काग्रेसका देबप्रसाद तिमल्सिना र मधेशबादी दलको गठबन्धनबाट राजपा नेपालका कन्थमणी प्रसाद जैयसवाल यस पटकको निर्वाचनमा एक अर्काको प्रतिस्पर्धीको रूपमा देखिएका छन् ।
यस क्षेत्रबाट २०४८ सालमा डाक्टर बंशिधर मिश्र, २०५१ सालको निर्वाचनमा डाक्टर बंशिधर मिश्रलाई पराजित गर्दै नेपाली कांग्रेसका उद्धव ढकाल, २०५६ सालको निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, २०५६ सालकै उप निर्वाचनमा नेपाली कांग्रेसका प्रकाश कोइराला, २०६४ सालको संविधानसभाको निर्वाचनमा एमालेका नेता माधब कुमार नेपाललाई हराउदै तत्कालिन नेकपा माओवादीका देबेन्द्र पटेल र २०७० सालको संविधानसभाको निर्वाचनमा देवप्रसाद तिमल्सिनालाई हराउदै नेकपा एमालेका रामकुमार भट्टराई विजयी भएका थिए । यो क्षेत्रमा ४५ हजार ३ सय ५६ पुरुष र ४० हजार २ सय ६७ महिला गरी ८५ हजार ६ सय २३ मतदाता रहेका छन् । सबै उम्मेदवारले आफुले जित्ने दाबी गरेपनि कसले बाजी मार्ने हो त्यो भने मतगणना पश्तात नै थाहा हुनेछ ।








