रसुवागढी पुगेर ओलीले दिए यस्तो वचन

काठमाडौं, पुस ५ । वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो । मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चिनियाँ नाका पुगेका ओलीले यो उत्तरी ढोकालाई नेपाल-चीन आयात-निर्यातको मुख्यमार्ग बनाउने मात्रै बताएनन्, अब देश विकासको ढोकासमेत बनाइछाड्ने उद्घोष गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले रसुवागढीको महत्व नबुझ्दा नेपाल आर्थिक रूपमा पछाडि परेको तर्क दिए । अनि राष्ट्रिय विभूति भृकुटी हिँडेको यो नाकामार्फत नेपाल-चीन साइनो ‘अझै विश्वसनीय बनाउने’ सन्देश पनि प्रवाह गरे । चीनले यो नाकालाई सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि दुवै देशको राजनीतिक नेतृत्वमध्ये ओलीको यो सबैभन्दा उच्च तहको भ्रमण हो ।

ओलीको भनाइमा, अब बन्ने कम्युनिस्ट सरकारले चीनको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौं-लुम्बिनी रेलमार्ग बनाउनेछ । उनले यसलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्दै काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताए । रसुवागढी अढाई वर्षदेखि आधिकारिक रूपमा सञ्चालनमा रहेको नाका हो । यस नाकालाई चीनले प्रमुखतासाथ १ सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिइसकेको छ ।

चुनावी जितसँगै भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीले रसुवागढी नाका हुँदै चिनियाँ बन्दरगाहसम्म आयात-निर्यात गर्ने सहमति भइसकेकाले अब यो नाकामा आगामी सरकारको ध्यान केन्द्रित हुने वचन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *