पुनः मतदान स्वागत योग्यः गठबन्धन


किशोर खनाल, भरतपुर । नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्वाचन आयोगले मतपत्र च्यातिएको भरतपुर १९ नं वडाको पुनः निर्वाचन स्वागतयोग्य भनेको छ ।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले आयोगले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय गरेर राम्रो गरेको र उक्त कदम स्वागतयोग्य रहेको बताए । सभापति श्रेष्ठले काँग्रेस, माओवादीको गठबन्धनको बैठक बसेर निर्वाचनबारे थप रणनीति बनाइने जानकारी दिए ।
यस्तै माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियारले आयोगको निर्णय स्वागतयोग्य भन्दै अब निर्वाचनका लागि होमिने बताए । एमाले चितवनले आयोगको निर्णय निन्दनीय रहेको बताएको छ । एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेलले कुनै हालतमा आयोगको निर्णय नमान्ने बताए ।
एमालेले च्यातिएका मतपत्र बदर गरेर पुन मतगणनाको माग गर्दै आन्दोलन चलाइरहेका बेला पुन मतदानको निर्णय आएको हो । मत पत्र च्यातेको आरोप लागेका दुई जना माओवादी कार्यकर्तालाई अदालतले जनही रु एक एक लाख धरौटीमा रिहा गरेको छ । माओवादी केन्द्रले भने एमालेले मतपत्र कब्जामा लिएपछि मतको सुरक्षाका लागि जाँदा मतपत्र च्यातिन पुगेको दावी गर्दै आएको छ ।
१९ नं वडामा २ हजार ८ सय ९७ मत खसको १९ नम्बर वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेका छन् । भरतपुर महानगरपालिकामा माओवादी र काँगे्रेस गठबन्धनबाट मेयरमा रेणु दाहाल र एमालेको तर्फबाट देवी ज्ञवाली प्रतिस्पर्धामा छन् ।
वडा नम्बर १९ को २४ सय भोट गणना हुँदै गर्दा मत पत्र च्यातिएको थियो । १८ सय मत गणना हुँदा सम्म एमालेका उम्मेदवार ज्ञवाली ७ सय ३३ मतले दाहाल भन्दा अघि रहेका थिए । भरतपुर वडा नम्बर २० को ३ हजार ३ सय भोट गणना गर्न बाँकी नै छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै उक्त घटनामा कुल ९० मत च्यातेको पुष्टी गरेको छ । यस वडाको ९९८ मत गन्न बाँकी थियो । निर्वाचन आयोगले निर्णय गर्दै अब वडा नं .१९ को सबै मतलाई अवैध घोषित गरेको छ । नयाँ निर्वाचनको मिति, समय तोक्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन अधिकृत कविराज न्यौपानेले दलहरुसंग बैठक बसेर नयाँ निर्वाचनको मिति तोकिने जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षा निकाय सहितको सर्वदलीय बैठक राखेपछि मतदानको मिति तय गरिने सहायक निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =