रामारोशनलाई पिछडिएको क्षेत्रमा पार्छौँ : रावल

अछाम, २ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभाका उम्मेदवार भीम रावलले आगामी निर्वाचनपछि रामारोशन गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राख्ने बताउनुभएको छ ।

रामारोशन गाउँपालिका–५ रामारोशनमा आज आयोजित वाम गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै अछाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रावलले सरकारले पूर्वाग्रही भएर रामारोशनलाई सुगम क्षेत्रमा राखेको आरोप लगाउनुभयो । उहाँले वाम गठबन्धनले आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याएर अछामका केही गाउँपालिकालाई दुर्गम क्षेत्रमा आश्वासन दिनुभयो ।

नेता रावलले सुन्दर पर्यटकीय क्षेत्र रामारोशनसम्म जाने सडकको स्तरोन्नति गरी कालोपत्र गरिदिनेसमेत प्रतिबद्धता जनाउनुभयो ।
चुनावीसभामा निर्वाचन क्षेत्र नं १ को प्रदेश (ख) मा वाम गठबन्धनका उम्मेदवार झपट बोहराले आफू निर्वाचित भएपछि सबैभन्दा पहिला रामारोशन पर्यटन मार्ग कालोपत्रका लागि पहल गर्ने र रोजगारका कार्यक्रम ल्याउने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार तारमान स्वाँर, पोलिटब्यूरो सदस्य दीपक साउद, खगेन्द्र रोकाया, झंकर साउद, एमालेका जिल्ला अध्यक्ष तथा पूर्वसभासद शेरबहादुर कुँवर, समानुपातिक उम्मेदवार कृष्णप्रसाद जैशी, जंग विक, मीना साउदलगायतले मन्तव्य राख्दै वाम गठबन्धनका पक्षमा मत माग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =