पुरा होला चुनाव जित्ने कमलको दाउ ? मैदानमा छन् चिरपरिचित प्रतिस्पर्धी

मकवानपुर, कात्तिक २२ । मकवानपुर क्षेत्र नं. १ ले चिरपरिचित प्रतिस्पर्धी उम्मेदवार पाएको छ । २०४८, २०५१ र २०५६ सालका प्रतिद्वन्द्वी चौथो पटक भिड्दै छन् । उनीहरूबीच तीनवटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा यस क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । सोही क्षेत्रमा वामपन्थी गठबन्धनबाट कृष्ण दाहाल मैदानमा छन् ।
दुवै संविधानसभा चुनावमा भने दुई नेतामध्ये एक छान्नुपर्ने अवस्था यहाँका मतदातालाई आएन । २०६४ मा कमल थापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार भए । २०७० मा उनले श्रीमती प्रमिला थापालाई क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनाए तर, आफूचाहिँ समानुपातिकमा बसे ।
एमाले नेता कृष्ण दाहाल २०६४ र ७० दुवै चुनावमा उम्मेदवार बनेनन् । संविधान जारी पश्चात्को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको समर्थनमा थापा र माओवादीको सहयोगमा दाहाल उम्मेदवार बनेर कडा प्रतिस्पर्धा गर्दै छन् । थापा र दाहाल एक– अर्काको उम्मेदवारीको प्रतीक्षामा बसेका जस्ता देखिन्छन् । ‘एकले अर्काको बदला लिने हिसाबले उम्मेदवारी दिएका होइनौं, यो संयोगमात्र हो,’ दुवै उम्मेदवारले भने, ‘हाम्रो बीचमा कुनै कटुता छैन ।’
मुलुकको तरल राजनीतिक अवस्थाको भरपुर फाइदा उठाउन सक्ने शिल्पकारी राजनीतिक खेलाडीको पहिचान बनाएका कमल थापाले बहुदलीय व्यवस्थायता मकवानपुरबाट चार पटक चुनाव लडिसकेका छन् । जसमध्ये एक पटकमात्र उनलाई सफलता मिलेको छ ।








