तातो पिच सडकमै सुतेर बृद्धबृद्धाहरुले गरे प्रर्दशन
२०७४ जेठ १५ गते

काठमाण्डाै । आफूहरुलाई दिने गरेको सेवा सुविधा बढाउन माग राख्दै मिनभवन यातायात व्यवस्था विभाग अगाडि बृद्ध–बृद्धाहरुले प्रर्दशन गरेका छन्। केही बेर उनीहरुले तातो पिच सडकमै सुतेर विरोध जनाए । स्थानीय निकायको निर्वाचन अगाडि सबै दलहरुले बृद्ध भत्ता तथा अन्य सेवाहरु बढाउने भने पनि बजेट भाषणमा आफुहरुको हितमा कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।
जीवन भर देशको लागि रगत पसिना बगाएकाहरुलाई बुढो र शक्तिहीन भएपछि सरकार र समाजले समेत उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो छ। आफूहरुलाई सरकारले उचित सेवा सुविधा दिनुपर्ने भन्दै उनीहरु ‘अग्र समाज नेपाल’ नामक संस्था बनाई आन्दोलनमा उत्रिएका हुन् । समाजका सहअध्यक्ष नयन्द्रबहादुर खड्काले सेवा सुविधा नबढाए सम्म आफूहरुको आन्दोलन जारी राख्ने बताए ।
भोट माग्न अनेक आश्वासन दिएर घर घरमा आएका राजनीतिक दलहरु अहिले आन्दोलन थाल्दा समेत गुनासो नसुनेको उनले बताए। ‘अहिलेको भत्ताले चिया खाजा खान समेत पुग्दैन’ उनले आक्रोश पोखे ‘नेताहरुलाई सानो रोग लाग्दा पनि करोडौं खर्चेर विदेश जानुपर्ने, हामीलाई भने सामान्य औषधिलाई पनि खर्च नपाउने ?’
स्वास्थ्य उपचार तथा भत्ता गरी हाल सरकारले मासिक २ हजार रुपैयाँ प्रदान गर्दै आएको छ। उनीहरुले भने , ‘पाँच हजार जति भयो भने सामान्य खाजा खर्च र सामान्य औषधिका लागि पुर्याउन सकिन्थ्यो’ खड्काले भने।
करिव ३ वर्ष देखि प्रदर्शन गर्दै आएका उनीहरु मध्य यो अवधिमा १८ जनाको मृत्यु भइसकेको खड्काले जानकारी दिए।

के छ त अन्य मागहरु ?
– उपचारको लागि सरकारी अस्पतालमा पुर्ण र निजी अस्पतालमा ५० प्रतिशत छुट दिनुपर्ने।
– बृद्ध भत्ता महिनाको ५ हजार बनाउनु पर्ने।
– हिँडडुल गर्न नसक्नेको हकमा सरकारी कर्मचारीले घरमै ल्याएर भत्ता दिनुपर्ने।
– पारिवारीक कारणले बसाई सनुपरेको हकमा सोही ठाँउबाट भत्तालिन पाउने व्यवस्था मिलाउनुपर्ने।
– हवाई यातायातमा समेत ५० प्रतिशत छुट दिनुपर्ने।
– अहिले दलितलाई ६० वर्ष र गैर दलितलाई ७० वर्षमा भत्ता दिइएकोले यो भेदभाव हटाई सबैलाई ६० वर्षमा भत्ता दिनुपर्ने।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








