कस्तो सार्वजनिक सुनुवाई ! बोल्न नपाउने, सुन्न मात्रै पर्ने ?

धरान, माघ ६ । धरान विमान स्थल निर्माण कार्यमा सरोकारवालाहरुको राय संकलन विषय सार्वजनिक सुनुवाईमा बोल्न नदिएको भन्दै धरान १७ रेल्वेवासीहरुले आक्रोस पोखेका छन् ।

‘नागरिकले सोध्नै नपाउने हो भने किन एयरपोर्ट सम्बन्धी नागरिक सुनुवाई गरेको ?’ धरान एयरपोर्टको लागि नम्बरी जग्गा समेत दिएका जीवन भट्टराईले प्रत्रकार सामु प्रश्न गरे । जग्गा प्रदान गर्न पहल गरेका भट्टराईलगायत २४ जना रेल्वेवासीले धरान एयरपोर्टको लागि २०६० चैत्र १० गते यति इन्कपोर्रेट प्रालि लाई जग्गा प्रदान गरेका थिए ।

जग्गा प्रदान गरेको १४ वर्ष बितिसक्दा पनि कामै बिनाको पहल’ मात्र गरिरहेको आरोप लगाउँदै नागरिकहरुले सार्वजनिक सुनुवाईमा आक्रोस पोखेका हुन् । भट्टराईले भने ‘एयरपोर्ट बन्नु पर्ने तर, जग्गादाताहरुलाई विश्वास दिलाउने वातावरण तयार पार्ने कस्ले यो जवाफ हामीलाई दिनुपर्याै ? यति इन्कपोर्रेटलाई हामीले जग्गा बेच्न दिएका होइनौं ।’ उनले भने,

स्थानीय ममिता राईले पनि ‘एयरपोर्ट निर्माण स्यालको कथा’ जस्तै भइसकेको टिप्पणी गरिन् । उनले आफू एयरपोर्ट बन्ने पक्षमा भए पनि जग्गादाता तथा सुकुम्बासीहरुलाई आस्वस्त पार्नु पर्ने बताइन् ।

धावनमार्ग मै घर पर्ने याम किरातीले एयरपोर्ट बन्दा सरोकारवाले त्यहाँको सुकुम्बासीलाई कहाँ कसरी व्यावस्थापन गर्ने त्यसको निचोड दिन माग गरे । ‘हामी विकास विरोधी हौइनौं । तर, सुकुम्बासीहरूलाई क्षतिपूर्ति विना नै कहाँ र कसरी राख्छ ।’ उनले भने ।

अर्का जग्गादाता इन्द्र कटुवालले बाउवाजेले आर्जेको सम्पत्ती कौडीको भाउमा दिएकाले एयरपोर्ट कहिलेसम्म बनिसक्छ त्यसको लिखितनामा दिनु पर्ने जिकिर गरे । सोही कार्यक्रममा राजनीतिकर्मी तथा स्थानीय जसकुमार राईले एयरपोर्टको काम कसरी अघि बढिरहेको छ त्यो जनतालाई आश्वास्त पार्न आग्रह गरे ।

उता नागरिक उड्डयन प्राधिकरणले एयरपोर्टको लागि ९३ विगाहा जग्गाको आवश्यकता पर्ने बताएको छ । उक्त जग्गा भए मात्रै एयरपोर्टको लागि सम्भव रहेको प्राधिकरणको भनाइ छ ।

सार्वजनिक सुनुवाईमा धरान एयरपोर्ट निर्माणको लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अध्ययन सम्बन्धमा तयार पारिएको मस्यौदा प्रतिवेदनको संक्षिप्त जानकारी समेत गराइएको थियो ।

त्यस विषयमा मुरारी सुवेदीले उक्त प्रतिवेदनमा थुप्रै अस्पष्टताहरु रहेको बताएका थिए । नागरिकहरुको राय संकलनपछि धरान उपमहानगरका नगर प्रमुख तारा सुब्बाले जनताको भावना विना धरान उपमहानगरले कुनै पनि योजना अघि नबढाउने प्रतिवद्धता गरेका छन ।

त्यस क्रममा सुकुम्बासी क्षेत्रका बासिन्दाहरुले एयरपोर्ट बन्नु हुँदैन भन्दै प्लेकार्डहरु प्रदर्शन समेत गर्दे बिरोध गरेका थिए ।

कार्यक्रमको विरोधको शैली देखेर धरानका बरिष्ठ प्रशासकीय अधिकृत गणेश तिम्सिनाले विरोधको कार्यक्रम गरेर मात्रै समस्याको समाधान नहुने भएकाले त्यसैको लागि राय सुझाव लिइएको बताएका मन्तब्यकै क्रममा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =