कार्ड माग्न जाँदा भनियो ‘कार्ड चलाउन नआउनेले किन बोक्नु’


भाद्र २१, काठमाडौँ । तपाईँले एटिएमबाट पैसा निकाल्दा एटिएम अड्किएको छ ? यदि छ भने, होसियार हुनुहोस् । यसरी एटिएम मेसिनमा कार्ड अड्किँदा तपाईँलाई थाहै नदिइ बैङ्कले पैसा काटिरहेको हुन्छ । बैङ्कको सिस्टम राम्रो नहुँदा र गुणस्तरहीन सेवा हुँदा सर्वसाधारणले सास्ती त खेपेका छन् नै, दैनिक रूपमा लाखौँ गुमाई रहेका पनि छन् ।

यो उदाहरण हेर्नुहोस्

गत शनिवार राजधानी नयाँ बजारस्थित एभरेष्ट बैङ्कको शाखा कार्यालयको एटिम सेवामा सोही स्थान बस्ने राहुल पौडेल (नाम परिवर्तन) बिहान गए । एभरेष्ट बैङ्कको एटिएम मेसिनमा उनले अर्कै बैङ्कको कार्ड हाले । त्यसपछि पिन नम्बर र आफूलाई चाहिएको रकम थिचे । एटिएमले पैसा दिएन । यो क्रम दुई पटकसम्म चलिरह्यो । तेस्रो पटक पनि गर्दा मेसिनले पैसा त दिनु कता हो कता उल्टै कार्ड समेत थुतिदियो । त्यसको केही मिनेटमै सेवाग्राहीको मोबाइलमा म्यासेज आयो ‘तपाईँको एटिएमबाट २१००, २१००, २१०० का दरले कारोबार भयो ।’

पैसा काटियो

पीडित सेवाग्राहीको खाताबाट २१०० का दरले तीन पटकमा ६ हजार तीन सय रुपैँया काटिएको छ । बैङ्कले उक्त पैसा किन र केका लागि काट्यो सेवाग्राहीलाई थाहा नै छैन । उक्त पैसा रिफण्डका लागि सेवाग्राहीले आफ्नो बैङ्कलाई पैसा काटिएको र एटिएम पनि लिएको लिखित जानकारी दिनु पर्दछ । त्यसपछि बैङ्कले एभरेष्ट बैङ्कलाई सेवाग्राहीको रकम ‘रिफण्ड क्लेम’ गर्दछ । अनीमात्र एभरेष्ट बैङ्कले उक्त रकम फिर्ता गर्दछ ।

यो प्रक्रिया यति झन्झटिलो र ढिलो हुन्छ की सेवाग्राहीले आफ्नो पैसा फिर्ता लिनका लागि दुई हप्तासम्म कुर्नुपर्छ । यदि एटिएमले लाखौँ रुपैंया तानेर राखिदिएको रैछ भने, त्यो पैसा हप्तौं दिनसम्म ‘बन्दकी’ जस्तै हुन्छ । सेवा ग्राहीले चलाउनै पाउँदैनन् ।
यदि तपाईँ अस्पतालमा हुनुहुन्छ । तपाईँलाई अर्जेन्ट पैसा चाहियो, खातामा पैसा र गोजीमा एटिएम कार्ड मात्रै छ भने, सङ्कट नै निम्तन्छ । तपाईँले पैसा निकाल्छु भनेर एटिएममा छिराएको कार्ड विना कारण एटिएमले नै थुतिदिन सक्छ ।

कर्मचारीको दुब्र्यवहार

१८ गते आइतबार इदको सार्वजनिक बिदा थियो । बैंकहरु पनि बिदा हुने भइहाले ।

एभरेष्ट बैकमा दुई दिनसम्म कार्ड थन्कीँदा ती सेवाग्राहीले आफ्नो खातामा रहेको रकम चलाउन पाएनन् । त्यसपछि सोमबार १० बजे ती पीडित सेवाग्राही बैङ्क व्यवस्थापन समक्ष गएर आफ्नो गुनासो पोखे । ‘मेरो खाताबाट २१ सयका दरले ३ पटक पैसा किन काटियो ?’ एभरेष्ट बैङ्कका कर्मचारीले राम्ररी जवाफ दिनुको सट्टा उल्टै सेवाग्राहीलाई थर्काए । ‘राम्ररी कार्ड छिराउन नआउनेले किन कार्ड बोक्नु ? हामीलाई किन पैसा काटियो थाहा हुँदैन । आफ्नै बैङ्कलाई गएर सोध्नुस् ?’ एभरेष्ट बैङ्क नयाँ बजार शाखाका ‘अमित’ नाम गरेका एक कर्मचारीले सेवाग्राहीलाई थर्काए । उनले बैङ्कका कर्मचारीलाई कार्ड झिकेर दिनहुन अनुरोध गर्दा ‘दिन मिल्दैन’ भन्दै झर्कोफर्को गरेको जिकिर गरे । ‘मेरो कार्ड अड्कियो भन्दा ‘अमित’ नाम गरेका कर्मचारीले ‘दिन मिल्दैन, कार्ड पनि छिराउन नसक्ने कस्तो मान्छे ।’ भनेर हप्काए ।’ उनले भने ।

एभरेष्टका सबै एटिएममा समस्या

एभरेष्ट बैङ्कका एटिएमहरुले यसरी पैसा काट्ने गरेको नौलो घटना हैन । यस अघि पनि यस्ता गुनासाहरु लिएर बैङ्कमा धेरै सेवाग्राहीहरु गएका भए पनि बैङ्क व्यवस्थापनले चासो दिएन । ‘मेरो पनि केही महिना अघि यस्तै समस्या भयो । बैङ्कमा कुरा गर्दा कहिलेकाँही यस्तो हुन्छ भन्ने जवाफ दिए ।’ नयाँ बजारका रमेश अर्यालले बताए ।

बैकले प्रयोगमा ल्याएका अधिकांश एटिएम मेसिनहरु कार्ड पुरै छिराउने खालका छन् । अमेरिकन सिस्टमका अत्याधुनिक मेसिन भनेर प्रयोग गरिएपनि यी मेसिनमा धेरै समस्या रहेकोले आफूहरूले हटाएको एक बंैकर्सले बताए । ‘यो सिस्टमको समस्या हो । खातावालाको बैङ्कको सिस्टमले एभरेष्टको सिस्टमलाई कारोबार गर्न भनेपनि एभरेष्टको सिस्टमले रिड नगरेको हो ।’ उनले भने । ‘यस्तो अवस्थामा सिस्टमले अटोमेटिक रूपमा खातावालाको बैङ्कलाई कारोबार नगरेको जानकारी पठाउनु पर्दछ ।’ उनले भने । एभरेष्ट बैङ्कको सिस्टमले भने सेवाग्राही र बैङ्कलाई यो सेवा दिएको छैन ।

कारण सिस्टमको खराबी ‘श्रेष्ठ’

बैङ्कका एटिएम सेल इन्चार्ज मधु श्रेष्ठले भने सेवाग्राहीले एटिएम प्रयोग गर्दा गलत पिन नम्बर प्रयोग गर्दा मेसिनले अटोमेटिक कार्ड तान्ने सिस्टम रहेको बताए । उनले मेसिनले कार्ड तानेपछि सम्बन्धित सेवाग्राहीले आफ्नो बैङ्कलाई जानकारी गराएर बैङ्कबाट लेटर ल्याएपछि मात्र कार्ड दिने सिस्टम रहेको जिकिर गरे । उनले सेवाग्राहीको पैसा काटिएको विषयमा भने, सम्बन्धित बैङ्कलाई नै सोध्नुपर्ने बताए । ‘पैसा कसरी काटियो भन्ने कुरा बैङ्क मार्फत नै सोध्नुपर्दछ । एटिएम तान्ने विषयमा तीन पटकसम्म गलत पिन नं. प्रयोग भएपछि सिस्टमले नै सुरक्षाका लागि कार्ड तान्छ ।’ उनले भने । ‘हामीले प्रयोगमा ल्याएको एटिएम मेसिन अमेरिकन सिस्टमको हो । कार्ड छिराउने सिस्टम अझ सुरक्षित हुन्छ । कसैले चोरीको कार्ड प्रयोग गर्न सक्दैनन् ।’ उनले जिकिर गरे । श्रेष्ठले सिस्टमको खराबीले कारोबार फेल भएको अवस्थामा मात्र पैसा काटिने सम्भावना भएको र पछि त्यस्तो पैसा रिफण्ड गरिने बताए ।

मासिक रूपमा लाखौँ काटिन्छ

एभरेष्ट बैङ्कले ग्राहकहरुले थाहै नपाउने गरी करोडौं रुपैंया काटिरहेको छ । बैङ्कले सर्भिस चार्ज मात्र हैन, अन्य विभिन्न बहानामा पैसा काट्ने गरेको छ । लाखौँ करोडौंको कारोबार गर्नेहरुले बैङ्कले विभिन्न शीर्षकमा थोरै थोरै पैसा काटेपनि थाहा पाउँदैनन् । ‘दैनिक करोडौं कारोबार हुँदा १०–२० रुपैंया काट्दा केही थाहा हुन्न ।’ नक्साल स्थित एक व्यापारीले बताए । तर, यसरी खातावालालाई थाहै नदिइ पैसा काट्नु गैरकानुनी हो । चोरी गर्नु हो । नेपाल राष्ट्र बैङ्कका एक कर्मचारीले कुनै पनि बैङ्कले राष्ट्र बैङ्कको नियामवली बाहिर गएर खातावालाको पैसा काट्न पाउँदैन,। ‘त्यस्तो गरिएको लिखित उजुरी आए छानबिन गरी त्यस्ता बैङ्कलाई कारबाही गरेर क्षतिपुर्ति समेत असुल गर्न सकिने प्रावधान छ ।’ उनले भने ।

हामीलाई थाहा छ, पर्स, ब्यागमा लाखौँ रुपैंया लिएर सार्वजनिक स्थानमा हिँड्नु सुरक्षित छैन । त्यसमाथि राजधानीको जाम, भिडभाड र अस्तब्यस्त जीवनमा गोजीमा पैसा बोकेर हिड्नु सुरक्षित हैन ।

एटिएम प्रयोगमा ल्याउँदा पैसा बोक्ने भन्झट र असुरक्षित हुने अवस्थामा कमी त आएको छ । तर, यही कुराको फाइदा उठाउँदै बैंकहरुले गरेको ठगी पक्कै लुटतन्त्र भन्दा कम छैन । प्रतिष्पर्धात्मक बजारमा बैंकहरुले सेवाग्राहीलाई जति राम्रो सेवा र गुणस्तर दिने हो त्यत्ति नै उनीहरूको गुडविल पनि बढ्ने हो । एभरेष्ट बैङ्कले सेवाग्राहीलाई दिएको सेवा गुणस्तरीय छैन । यो विषयमा बैङ्क जिम्मेवार बन्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =