सशस्त्र प्रहरीलाई ३४ रनले हराउदै नेपाल पुलिस प्रधानमन्त्री कपको फाइनलमा

सशस्त्र प्रहरी बललाई डक वर्थ एण्ड लुइसको नियमको आधारमा ३४ रनले हराउदै नेपाल पुलिस क्लव प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको फाइनलमा प्रवेश गरेको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा नौ किवेट गुमाउदै दुई सय ५२ रन बनायो ।
उसका पहिलो विकेटका लागि सुनिल धमला र अमित श्रेष्ठले ६७ रनको साझेदारी गर्दै दरिलो सुरुवात दिएका थिए तर ९७ रन बनाउदा तीन विकेट गुमाएको पुलिसका लागि कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रनको योगदान गरे । यस्तै सुनिल र अमितले समान २६–२६ रन बनाए ।
यस्तै दिपेन्द्रसिंह ऐरीले ३७ रन बनाउदा मञ्जित श्रेष्ठले २२ रन थपे । यस्तै पुलिसले २२ अतिरीक्त रन पाएको थियो । एक समय राम्रो स्थितीमा देखिएको पुलिसका पुछारका खेलाडीले खासै राम्रो खेल्न सकेनन । बलिङ तर्फ अनील शाहले तीन तथा कप्तान ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले समान दुई दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुवात गरेको सशस्त्रको स्कोर २८ ओभर तीन बलमा ६ विकेट झर्दा पानी परेपछि खेल राकिएको थियो । ३४ रन हुदा पहिलो विकेट गुमाएको सशस्त्रले ६४ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि थप १२ रन हुदा सशस्त्रले अर्को विकेट गुमायो । एक सय ३८ रनमा महत्वपुर्ण ६ विकेट गुमाएको सशस्त्रका लागि सन्दिप सुनारले ३६ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए ।
यस्तै पृथु बास्कोटाले १९ र सुवास खकुरेलले १७ रन जोडे । तर निरन्तर पानी परेपछि अम्पायरको निर्णयले डकवर्थ एण्ड लुइसको नियममा सशस्त्रले २८ ओभर तीन बलमा एक सय ७३ रनको लक्ष्य पायो । तर सशस्त्रले त्यती ओभरमा एक सय ३८ रन बनाएकाले पुलिस ३४ रनले विजयी भयो । पानी परेपछि सशस्त्रलाई भने ठुलो घाटा हुनपुग्यो । अब उपाधिका लागि पुलिस ले आर्मी र पश्चिमाञ्चल विचको विजेतासंग खेल्नेछ ।








