बोल्न पनि नसक्ने र कान पनि नसुन्ने बिनबहादुर बेवारिस

बारेकोट गाउँपालिका ८ लैखमका ११ वर्षीय बिनबहादुर सिंह बोल्न पनि नसक्ने र कान पनि नसुन्ने जन्मजात अपाङ्ग हुन् । जन्मेको एक वर्ष नपुग्दै उनले बाबु लोकबहादुरलाई गुमाए भने दुई वर्ष पुग्न लाग्दा आमा मनकुमारीले दोस्रो विवाह गरेपछि बेवारिस भएका छन् । बेवारिस भएपछि सडक चहार्न बाध्य भएका बिनबहादुर हातको इसाराले मात्र कुराकानी गर्न सक्छन् ।

उनको १५ वर्षीया जेठी दिदी प्रेममाया आमाको दोस्रो घरमा बसेर कक्षा ६ मा अध्ययन गरिरहेकी छन् भने १३ वर्षीय कान्छी दिदी पुष्पा मामाघरमा बसेर कक्षा ५ मा अध्ययन गरिरहेकी छन् ।

गाउँलेको सहयोगमा गत वर्ष अपाङ्गताको परिचय पत्र लिन जिल्ला सदरमुकाम खलङ्गा पुगेका बिनबहादुरलाई अपाङ्गता परिचय पत्र लिन चिकित्सकको सिफारिस आवश्यक पर्ने महिला तथा बालबालिका कार्यालयल भनेपछि जिल्ला अस्पताल पुर्‍याइएको थियो । उक्त अस्पतालले सिफारिका लागि स्वास्थ्य जाँच गर्नैपर्ने भनेर अड्को थापेपछि अहिलेसम्म अपाङ्गता परिचय पत्र बन्नसकेको छैन ।

बिनबहादुरको बाजेको नाममा रहेको पुर्खेली– २४ रोपनी जग्गा ४५ सालको नापीमा नापी भएपनि जग्गा धनी पुर्जा बनाइएको थिएन तर पनि उनका बाबुको पालासम्म चलनभोग हुँदै आएको थियो । अहिले उक्त जमिन पनि बेवारिस बनेको छ ।

गतवर्ष गाउँलेको सहयोगमा लालपुर्जा लिन भनेर जिल्ला मालपोत कार्यालयमा पुर्‍याइएका बिनबहादुरलाई ५५ हजार रुपैयाँ राजस्व बुझाएपछि लालपुर्जा उपलब्ध गराउने जिल्ला मालपोत कार्यालयले बताएपछि सो रकम बुझाउन नसक्दा लालपुर्जाबाट पनि बन्चित भएका हुन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =