यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

बलात्कारमा उन्मुक्तिको प्रपञ्च : कान्तिपुर
काठमाडौं, माघ १९ । पछिल्लो समय सार्वजनिक भएका ‘सामूहिक बलात्कार’ का दुई घटनाले प्रहरी र अदालतको गैरजिम्मेवार कार्यशैलीलाई छताछुल्ल पारेका छन् । काठमाडौं र ललितपुरमा भएका बलात्कारका घटनामा राज्यका जिम्मेवार निकाय क्रमशस् प्रहरी र अदालत पीडितलाई न्याय दिलाउन नभई पीडकलाई उन्मुक्ति दिने भूमिकामा स्पष्टसँग देखिएका छन् ।
उपत्यकामै भएका यी दुई प्रकरण राज्यको जवाफदेहिता र न्यायिक पद्धतिमा अविश्वास पैदा गर्ने खालका छन् । यसले बलात्कारजस्तो जघन्य अपराधमा अझै पनि पीडितले न्यायिक अधिकार पाउन कति मुस्किल पर्ने रहेछ भन्नेसमेत देखाएको छ ।
काठमाडौं दरबारमार्गमा एक साताअघि भएको सामूहिक बलात्कारको घटनामा प्रहरी मिलापत्र गराएर पीडितलाई उन्मुक्ति दिने भूमिकामा आएर अड्किएको छ । यस्तै, दुई महिनाअघिको ललितपुरको सामूहिक बलात्कार काण्डमा पर्याप्त प्रमाण र आधार हुँदाहुँदै पनि जिल्ला अदालतले आरोपितलाई हालै साधारण तारेखमा रिहा गरेको थियो ।
ललितपुर घटना एक युवतीलाई ढुंगा प्रहार गरी बेहोस बनाएर सामूहिक बलात्कार गरिएको सम्बन्धी थियो । यी दुवै घटना न्यायिक पद्धतिका हिसाबमा प्रक्रिया र चुनौतीका हिसाबमा महत्त्वपूर्ण छन् । बलात्कारका घटनामा पीडितले ‘लोकलाज’ को डरले जाहेरी दिनै नसक्ने अवस्था रहेका बेला जेनतेन हिम्मत जुटाउँदै न्यायको ढोका ढकढक्याएका हुन्छन् ।
तर उल्टै यसरी पीडकलाई उन्मुक्ति दिने चेष्टामा न्यायिक कार्यसम्पादन गर्नु पीडितमाथि अन्याय मात्र होइन, अपराधसमेत हो । पीडितलाई न्याय दिलाउने सन्दर्भमा राजधानीका यी दुई घटनाबाट सम्बन्धित निकायले पाठ सिकेर आफूलाई सच्याउन र यस्ता घटना दोहोरिन नदिन दृढ प्रतिबद्ध हुन जरुरी छ ।
प्रदेशसभा पहिलो बैठकको सन्देश : नागरिक
प्रदेश ३ को बैठक सूरु भएसँगै मुलुक संघीयता कार्यान्वयनको औपचारिक चरणमा प्रवेश गरेको छ ।
बैठकको चालनीमै प्रदेशसभा सदस्यहरुले समुद्धिद्धका पक्षमा आवाज उठाएर यो प्रदेशका निम्ति मात्र होईन देशकै निम्ति सुखद सन्देशको प्रवाहसमेत गरेका छन् ।
यथार्थमा मुलुक संघीयतामा जानुपर्नाको खास कारण पनि यही हो ।
केन्द्रबाट मात्र शासन सञ्चालन गर्दा स्थानीय आकांक्षालाई राम्ररी सम्बोधन गर्न नसकेको महसुस गरेकै कारण यो नयाँ व्यवस्थामा जानुपरेको हो ।
विगतमा विकेन्द्रीकरणको अभ्यानस गर्न पनि नखोजिएको होईन । तर, स्थानीय स्तरबाटै आएका योजना आयोजनालाई त्यही कार्यान्वन गर्ने मुलुकभरिका सबै ठाउँलाई बसौँबसौँ बनाउन सक्ने काम भएको भए मुलुकले यस किसिमको व्यवस्था गर्नेपर्ने थिएन ।
भावी प्रदेशसभा र प्रदेश सरकारका लािग एउटा स्तर निर्धारण गर्ने जिम्मेवारी अहिले छ ।
पहिलो बैठकबाट उठाईएको मुलुकको समृद्धिको आवाजलाई मुखरित गर्न र सफल पार्न सके जनताले ठुलो गुन मान्नेछन् ।
गैरभन्सार अवरोधले समस्या : नयाँ पत्रिका
भारतसँगको नेपालको व्यापार जहिले पनि समस्याग्रस्त रहने गरेको छ । अंग्रेजले भारतमा शासन गर्दा नेपालको तराईबाट काठको निकासीका समयमा भारतसँगको व्यापारमा नेपालको हात माथि थियो ।
रेलवे लिक बनाउन उता काठ नभई नहुने यता भएको साल मासेर व्यापार गर्न पाए आफ्नो ढुकुटी भरिने राणाहरूको विचारबीच गजबको तालमेल थियो ।
तर, लामो समय यस्तो सुविधा रहेन । सन् १९७० यताको भारतसँगको नेपालको व्यापारमा नेपाल जहिले पनि घाटामा छ ।
एक त नेपालले निर्यात गर्ने परम्परागत कृषि उपज घट्दै गएर नेपाललाई नै नपुग्ने स्थिति आयो भने अर्कातिर भारतमा भएको हरित क्रान्तिले नेपाली कृषि उपज भारतका लागि नचाहिने भयो ।
यता आएर निकै सीमित मात्रामा नेपाली उत्पादन भारत निर्यात हुने गरेको छ ।
गाडी, मोटरबाइक र तिनका पार्टपुर्जा र तिनलाई चलाउने पेट्रोलियम पदार्थ पनि भारतबाटै आयात हुन्छ । कृषिजन्य उत्पादन र पशुपक्षी या मासु तथा दुग्ध पदार्थदेखि फलफुलसम्ममा नेपालको धेरै हदसम्म भारतसँग निर्भरता रहेको छ ।
यसै सेरोफेरोमा नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेशसचिव विजय गोखलेले यस्तो समस्या हल गर्न पहल गर्ने आशा गर्न सकिन्छ । नेपाली अधिकारीले यसतर्फ विशेष पहल गरून् ।
राजधानीमा ढल प्रशोधन सराहनीय कार्य
राजधानी उपत्यकाका घर–घरबाट निस्कने ढल प्रशोधनका लागि आधुनिक प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढाइएको छ । ढल प्रशोधनका क्रममा बिजुलीसमेत निकालिने आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले बताउनुभएको छ
यो योजना सम्पन्न भइसकेपछि उपत्यकावासीको घर–घरबाट निस्केको ढल सीधै खोलामा मिसाइनेछैन । विभिन्न केन्द्रमा प्रशोधन भएपछि मात्रै शुद्ध पानी नदीमा पठाइनेछ ।
यस कार्यले उपत्यकाको नदीमा बहने पानी शुद्ध हुने देखिन्छ । साथै प्रशोधनका क्रममा बिजुलीसमेत उत्पादन हुने हुँदा दोहोरो फाइदा हुने देखिन्छ । त्यसैले यस कार्यको सराहना गर्नै पर्छ ।
निर्देशनालयले गुह्येश्वरीस्थित प्रशोधन केन्द्रको क्षमतालाई अभिवृद्धि गरिरहेको छ । गुह्येश्वरीको हाल १ करोड ६० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमता रहेकाले पहिलेको क्षमतालाई दोब्बर बनाएर बिजुली निकाल्न निर्देशनालय तम्सिएको समाचारमा उल्लेख छ ।
निर्माण सम्पन्न भइसकेपछि सो केन्द्रले ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गर्नेछ । यसै गरी भक्तपुरस्थित सल्लाघारी, ललितपुर बालकुमारीस्थित कोड्कु र धोबीघाटमा गरी नयाँ कुल ६ करोड ८० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना रहेको छ ।
गुहेश्वरी केन्द्रको पुनर्निर्माणको जिम्मा पाएको एक भारतीय कम्पनीले दुई वर्षभित्र काम सम्पन्न गर्ने र १० वर्षसम्म कम्पनीले सञ्चालन गरेर हस्तान्तरण गर्ने गरी सम्झौता भएको निर्देशनालयले जनाएको छ । गुह्येश्वरी ढल प्रशोधन केन्द्र निर्माणको काम अहिले ४० प्रतिशत सकिएको छ ।
गुह्येश्वरीबाट करिब २ सय ४० किलोवाट र धोबीघाटको केन्द्रबाट २ सय ४ किलोवाट बिजुली निकाल्ने जनाइएको छ । यो बिजुली प्रशोधन केन्द्रमै खर्च गरिने निर्देशनालयको योजना रहेको छ ।
आधुनिक प्रविधिबाट प्रशोधन केन्द्रको निर्माण हुने भएकाले यसवरपर निर्धक्करूपमा गन्धरहित तवरले स्वच्छ वातावरणमा मर्निङ वाक गर्न सकिने जनाइएको छ । यस्ता कार्यबाट दोहोरो फाइदा लिन सकिने भएकाले यसको सराहना गर्नै पर्छ । आगामी दिनमा काठमाडौंमा मात्र नभएर उपत्यकाबाहिरका अन्य शहरहरूमा पनि ढल प्रशोधन कार्यको थालनी गर्नुपर्ने देखिन्छ ।








