फोरम सरकारमा जान तयार, शर्त संविधान संशोधन !

काठमाडौं, १४ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका गठबन्धन सहमत भए सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

यद्धपी उनले एमाले–माओवादी नेतृत्वको बाम गठबन्धनले सरकार चलाउनका लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गरे ।

“हाम्रो पार्टीले सरकारमा जाने जनादेश पाएको छैन । तर गठबन्धनले हाम्रो आवश्यकता महशुस गर्यो भने हामी सहभागी हुन तयार छौँ”–यादवले भने । “उनीहरुको बहुमत छ हामी किन सरकारमा जाने ? बहुमत नभएको भए सहयोगको आवश्यकता पर्न सक्थ्यो ।”

यादवले माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । “बल एमालेको कोर्टमा छ, एमालेभित्रपनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ । हामी सरकारसँग सहकार्य गर्न तयार छौँ”– यादवले भने ।

प्रदेश नम्बर २ मा भने फोरमको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । उनले भने,‘२ नम्बर प्रदेशमा राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन् ।’

प्रदेश नम्बर दुई सबैभन्दा बढि पिछडिएको क्षेत्र भएकाले त्यहाँ बन्ने सरकारले आर्थिक विकासलाई प्राथमिकता दिने यादवको स्पष्टोक्ति थियो । प्रदेश नम्बर दुईको विकासका लागि केन्द्रिय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । “गणतन्त्र नेपालमा पनि त्यहाँ ध्यान नपुगे कहिले पुग्छ ?” उनको प्रश्न छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =