यस्तो छ रौतहटको चुनावी जोडघटाउ

किरण भट्टराई, रौतहट । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा कसको पक्षमा चुनावी परिणाम आउँछ भन्नेमा मतदाता सामु लेखाजोखा हुन थालेको छ ।

प्रतिनिधिसभाका चार र प्रदेश सभाको आठ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा पार्टीगत आस्थाका साथै उम्मेदवारको जातीयताको आधारमा समेत मतदाताले मतदान गर्ने भएकाले मतपरिणाम बारे उम्मेदवार नै अन्यौलतामा देखिन्छ । जिल्लामा मधेसी र पहाडीभन्दा पनि मधेसीभित्रकै जाति समुदायका आधारमा मतदान हुने भएकोले आफ्नो जितबारे कुनै पनि उम्मेदवार ढुक्क देखिँदैनन् ।

जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ मा नेपाली काँग्रेस जिल्ला सभापति कृष्ण यादव, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वराज्यमन्त्री सत्यनारायण भगत तथा राष्ट्रिय जनता पार्टी (राजपा) र सङ्घीय समाजवादी फोरमको गठबन्धनबाट राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा, नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरश साह लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

यो क्षेत्रमा सबैभन्दा बलियो उम्मेदवार मानिएका राजपाका झाविरुद्ध पूर्वसभासद् बबन सिंहको बागी उम्मेदवारी परेपछि राजपाका लागि टाउको दुखाइको विषय बनेको छ । फोरम नेपालका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीले झाको विजय यात्रालाई कठिन बनाएको हो । उम्मेदवार झा भने सिंहको उम्मेदवारीले आफूलाई कुनै असर नपर्ने भन्दै आफ्नो जित निश्चित रहेको बताउँछन् । काँग्रेस र वाम गठबन्धनका उम्मेदवार भने सिंहको उम्मेदवारीको फाइदा उठाउने दाउँमा छन् ।

त्यस्तै क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसबाट पूर्वमन्त्री मोहम्मद आफताब आलम, वाम गठबन्धनबाट एमालेका उम्मेदवार पूर्वराज्यमन्त्री मुस्ताक आलम (राजाबाबु), राजपा–फोरम गठबन्धनबाट फोरमका किरणकुमार साहबीच प्रतिस्पर्धा हुने अनुमान छ । यस अघि २०७० सालको संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका उम्मेदवार आलमलाई हराएका मुस्ताक केही दिन अघि एमालेमा प्रवेश गरी उम्मेदवार बनेका हुन् ।

यो क्षेत्रमा नातामा मामा पर्ने काँग्रेसका उम्मेदवार आलम र एमाले उम्मेदवार मुस्ताकबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गत स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा वाम गठबन्धन अगाडि रहे पनि काँग्रेस उम्मेदवार आलमले केन्द्रीय नेताको छविको फाइदा उठाउन सक्ने आँकलन गरिएको छ । रौतहटको क्षेत्र नं ३ बाट वाम गठबन्धनबाट बिना विभागीय मन्त्री एवं माओवादी नेता प्रभु साह, काँग्रेसका पूर्वसांसद सुनिलकुमार यादव (जितेन्द्र) र राजपा गठबन्धनका ओमप्रकाश जयसवाल चुनावी मैदानमा छन् ।

गत स्थानीय तहको मत परिणामका आधारमा यस क्षेत्रमा काँग्रेस, राजपा र फोरम तीन पार्टीको संयुक्त मतभन्दा वाम गठबन्धनको मत बढी रहेको फाइदा मन्त्री साहले उठाउन सक्ने अनुमान गरिएको छ । रौतहटको क्षेत्र नं ४ बाट काँग्रेसका देवप्रसाद तिमिल्सिना, वाम गठबन्धनबाट एमालेका डा वंशीधर मिश्र र फोरम–राजपा गठबन्धनका कन्तमुनि जयसवालबीच मुख्य प्रतिस्पर्धा छ ।

सबै पार्टीको जित्ने दाबी

मन्त्री तथा क्षेत्र नं ३ का माओवादी केन्द्रका उम्मेदवार प्रभु साह स्थानीय तहको मत परिणाम र देशभर वाम गठबन्धनको पक्षमा देखिएको माहोलका कारण गठबन्धनले नै जिल्लाको सबै क्षेत्रमा जित्ने दाबी गर्छन् । उनी भन्छन्, “जनताले स्थायी सरकारमार्फत विकास र समृद्धि खोजेका छन्, यसका लागि वाम गठबन्धनलाई नै मत दिन्छन् । मधेसका बाँकी रहेका माग पूरा गर्न पनि गठबन्धनले नै जित्नुपर्छ ।”

काँग्रेसबाट क्षेत्र नं १ का उम्मेदवार कृष्ण यादव स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी तह आफ्नो पार्टीले जितेको भन्दै अहिले पनि चारवटै क्षेत्रमा आफ्नो पार्टीले जित्ने जिकिर गर्छन् । उनी भन्छन्, “वाम गठबन्धन मधेस विरोधी र प्रजातन्त्र विरोधीको गठबन्धन हो । मधेसीको अधिकार, रक्षा र प्रजातन्त्र जोगाउन जनताले काँग्रेसलाई मतदान गर्नेछन् ।”

राजपाबाट क्षेत्र नं १ का उम्मेदवार अनिल झा मधेस आन्दोलनको घाउ र पीडा अझै जनताले नबिर्सेकाले आफ्नो गठबन्धनको जित निश्चित रहेको बताउँछन् । उनी भन्छन्, “प्रमुख तीन दल अरू सबै कुरामा मिल्ने तर मधेसी जनतालाई अधिकार दिने कुरामा नमिलेको नाटक गर्ने गरेकाले जनताले यस पटक उनीहरूलाई दण्डित गर्छन् ।”

क्षेत्र नं ४ का एमालेका उम्मेदवार डा वंशिधर मिश्र वामपन्थीको बहुमतको सरकार हेर्ने जनताको चाहना रहेकाले सोही अनुरूपको परिणाम आउने बताउँछन् । उनी भन्छन्, “अरू सबै पार्टीको चरित्र जनताले बुझिसकेका छन् । राष्ट्रियताको संरक्षण, आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धका उम्मेदवारलाई नै जनताले जिताउँने छन् ।”

मधेसी गठबन्धन कमजोर

मधेस आन्दोलनमा सधैँ अग्रमोर्चामा रहँदै आएको रौतहटमा आन्दोलनको नेतृत्व गर्ने मधेस केन्द्रित दल भने तुलनात्मक रूपमा निर्वाचनमा कमजोर देखिएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै उम्मेदवारी दिँदासमेत बलियो देखिएका राजपा र फोरम नेपाल अहिले गठबन्धन बनाएरै चुनावी मैदानमा ओर्लिंदासमेत आशातीत बलियो बन्न सकेका छैनन् । स्थानीय तहमा काँग्रेसको आठ, फोरमको चार, माओवादी केन्द्रको तीन, राजपाको दुई र फोरम लोकतान्त्रिकको एक उम्मेदवार विजयी भएका थिए ।

क्षेत्र नं १ मा राजपाका उम्मेदवार झा बलियो मानिए पनि अन्य तीन क्षेत्रमा भने मुख्यतः वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ । प्रदेशसभाका केही क्षेत्रमा भने फोरम र राजपाका उम्मेदवार बलियो देखिएका छन् । राजपाका नेता अनिल झाले प्रचार गरिए जस्तो आफूहरू जिल्लामा कमजोर नरहेको जिकिर गर्दै स्थानीय प्रशासनले आफूहरुलाई पेलेर कमजोर बनाउन प्रयास गरेको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =