राष्ट्रिय वाणिज्य बैंक ५३ औँ वर्षमा, २५ लाख ९९ हजार निक्षेपकर्ता !

काठमाडौँ, माघ ११ । ‘म सँगै जन्मिएको रहेछ, २०२२ सालमा । मैले श्रीमान् गभर्नरज्यूको साट्टोमा बोल्नु पाउनु मेरा लागि सौभाग्य हो । म साँच्चिकै हृदयदेखि नै अत्यन्त खुसी छु ।’ बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५३औँ बार्षिकोत्सबमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपाल अनुपस्थित भएपछि बैंकका कार्यवाहक अध्यक्ष चिन्तामणी सिवाकोटीले आफ्नो मन्तव्यलाई यसैगरि अघि बढाए ।

बुधबार हावा, हुण्डरी र चकमन्न मौसमबीच राष्ट्रिय वाणिज्य बैंकको ५३ औँ वार्षिकोत्सब समापन भयो । दिउँसो बेजोडले चलेको हुरीसँगै पाँच मिनेट बिजुली पनि काटियो । पछि बिजुली आयो अनि फेरि कार्यक्रम अघि बढ्यो, वाणिज्य बैंकको प्रधान कार्यालय सिंहदरबारप्लाजामा । त्यतिखेर कार्यक्रम आयोजक उप–समितका सदस्य गगनसिंह घिमिरे बैंकका कर्मचारीहरुको दुःख कहँदै थिए ।

कार्यक्रममा कार्यवाहक अध्यक्ष सिवाकोटी निक्कै खुसी थिए । मन्तव्यका क्रममा उनले यो पनि भन्न भ्याए, ‘निम्तो नस्वीकारे कर्मचारीले कराउलान् भन्ने डर पनि लाग्यो । उहाँ (गर्भनर) व्यस्त रहनुभएकोले मैले नै यहाँ आउनुपर्यो । जे होस् आज निक्कै खुसी छु ।’ त्यसपछि उनी कार्यक्रमको औपचारिकतातर्फ धकेलिए । ‘बैंक र मेरो जन्म सँगै भएको रहेछ । म आज जति बर्ष पुगेको छु । बैंक पनि ठ्याक्कै त्यति नै वर्ष पुगेछ, ५३ ।’

कर्मचारीको मन खुसी बनाउन उनले कुरा घुमाए । ‘आजको दिन सबैभन्दा खुसी मनाउनुपर्ने दिन हो । झगडा, बाझेर र रोइकराई गरेर होइन एकअर्कासँग खुसी साटेर पो खुसी मनाउनुपर्छ त । यस्ता समस्याहरु त काम गर्दै सुल्झाउँदै जानुपर्छ ।’ यसरी उनले मीठो बोली बोलेर हँसाए ।

कार्यक्रममा बैंकमा दुई दशकसम्म सेवामा रहेर अवकास प्राप्त गरेका तीन जना कर्मचारीहरुलाई अवकास पदक पनि वितरण भयो । शाखा कार्यालय उर्लाबारीका गोपाल श्रेष्ठ, दिपायलका धनबहादुर बुढा र चरिकोटका विष्णुबहादुर खत्रीलाई अवकास पदक वितरण गर्नुपर्ने भनिएपनि तीनै जना अनुपस्थित रहे । कार्यक्रममा अनुपस्थित उनीहरु सबैलाई ती शाखा कार्यालयमार्फत पदक वितरण गरिनेछ ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, गर्भनर चिरञ्जिवी नेपालको सट्टा बैंकका कार्यबाहक अध्यक्ष चिन्तामणी सिवाकोटी, कार्यक्रम सभापति तथा अध्यक्ष डा.रवीन्द्र प्रसाद पाण्डे र बैंकका सञ्चालक तथा कर्मचारीहरु उपस्थित रहेका थिए । दिउँसोको कार्यक्रम भएपनि रात्रीकालजस्तो मौसममा सम्पन्न भएको कार्यक्रममा पाँच मिनेट बिजुली बन्द हुनु अगाडि कार्यक्रम आयोजक उप–समितका सदस्य गगनसिंह घिमिरे बैंकका कर्मचारीहरुले भोग्नुपरेको दुःख कष्टबारे आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

कर्मचारी भन्छन्– कहिले जहाज चढ्ने !
सदस्य घिमिरेले अहिलेसम्म बैंकका कर्मचारीहरुले हवाइजहाजमा सयर गर्नै नपाई अवकास पाएको भन्दै दुखेसो व्यक्त गरे । कारण थियो, सरकारी बैंक भएर पनि विदेशमा आयोजना हुने प्रभावकारी तालिम र गोष्ठीमा पठाउन नसक्नु । ‘बैंकका कर्मचारीहरुले अहिलेसम्म प्लेन नै नचढी अवकास प्राप्त गरेका छन् । उनीहरुलाई विदेशका गोष्ठी र कार्यक्रममा पठाइएको छैन ।’ त्यसपछि उनले आठ तहका कर्मचारीहरुलाई गाडी त के मोटरसाइकलको व्यवस्था नभएको भन्दै चर्काे आलोचना गरे । त्यतिमात्र होइन पाँच पटकसम्म लात्ताले किक हान्दा पनि स्टार्ट नहुने बाइक कर्मचारीहरुले चलाउनुपर्ने बाध्यता देखाउँदै वार्षिकोत्सवले यो समस्याको हल गर्नुपर्ने उनले बताए ।

बैंकको प्रगति
बैंकको हाल कुल एक सय ८० शाखा रहेको छ । निक्षेप रकमतर्फ कूल एक खर्ब ४९ अर्ब र कर्जातर्फ एक खर्ब १० अर्ब लगानी गरिएको प्रतिवदेनमा उल्लेख गरिएको छ । २५ लाख ९९ हजार पाँच ३० निक्षेपकर्ता रहेको बैंकले १ लाख ५२ हजार ३३६ जनालाई कर्जा प्रवाह गरेको छ । बैंकले पुष मसान्तसम्म एक अर्ब ७५ करोड मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्ष (पौष मसान्तसम्म) एक अर्ब ३० करोड मुनाफा कमाएको थियो । हाल बैंकको सि.डी.को अनुपात ७४.२१ प्रतिशत रहेको छ । त्यस्तै,सि.डी.सी.को अनुपात ६९ प्रतिशत, एन.पीं ए. अनुपात दुइ दशमलब ८९ प्रतिशत, कूल ए.टी.एट एक सय ३० रहेको उल्लेख गरिएको छ ।

बैंकले एक वर्षको दौरानमा पाँच सय भन्दा बेसी कर्मचारीलाई जागिर दिलाएको छ भने अब लोक सेवाको परीक्षामार्फत् पाँच सय ७१ जनालाई जागिर खुवाउँदै छ । बैंकको कुल ३० लाख ग्राहकमध्ये साढे तीन लाख सेवाग्राहीले मोवाइल बैंकिङमार्फत् कारोबार गरेको देखाइएको छ । हाल ९२ स्थानबाट करिब २० हजार सेवाग्राहीले शाखारहित बैंकिङ् सेवा उपभोग गरिरहेका छन् ।

पहिला ग्रेडिङ अनि मर्जर
कार्यक्रममा राष्ट्रिय कर्मचारी संघका अध्यक्ष बेतबहादुर लाबेतले बैंकले कर्मचारीहरुको बाहिरी र भित्री व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै समितिले चाँडो भन्दा चाँडो ति वार्ताहरु टुङ्ग्याउनुपर्ने बताए । मुख्यगरी बैंकले भित्रि वार्ताहरु समाधान गर्न नसकेको बताउँदै उनले कर्मचारीहरुको मनोबल गिरेको र ७ वर्षे अवकास लिएर विदाई हनुपर्ने समस्या पनि दर्शाए ।

एन आइ डी सी बैंकसँग मर्जर प्रक्रियामा समस्या रहेको भन्दै उनले ग्रेडिङ प्रणाली लागू नगरिकन मर्जर प्रक्रिया नहुने बताए । कम्तिमा पनि वाणिज्य बैंकका २५ जना कर्मचारीको ग्रेडिङ नबढाए मर्जर प्रक्रिया अघि नबढ्ने पनि उनले बताए । अर्काे मुख्य समस्या ‘क’वर्गको बैंकसँग ‘ख’ वर्गको बैंक मर्जरमा कुनै व्यवस्थापन नगरी एक्कासी हचुवाको भरमा मर्ज गर्न नहुने समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =