सरकारको संरक्षण र उक्साहटमा हिंसात्मक घटना : एमाले

कात्तिक २९, काठमाडौं । नेकपा एमालेले पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभुति भइरहेको बताएको छ । एमालेका केन्द्रीय निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले एक प्रेस वक्तब्य जारी गर्दै आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाएर सरकार रमिते बनेको आरोप लगाएका छन् ।
चुनावी अभियानमा अवरोध पु¥याउन भएको आक्रमणप्रति सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको आरोप समेत एमालेले लगाएको छ ।
चुनावी अभियान जारी रहँदा एमालेका भोजपुर १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण प्रति एमालेले आपत्ति जनाएको छ ।
हिजै संखुवासभामा पनि कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण भएको तथा सुनसरी ३ का उम्मेदवार एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई कांग्रेस उम्मेदवारको नाम लिएर अभियान नरोके परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिएको समेत एमालेले विज्ञप्तिमा लेखेको छ । यस्ता अराजनीतिक काम तत्काल बन्द गर्न एमालेले आग्रह गरेको छ ।








