पछि हट्यो सरकार, मन्त्रिपरिषद् सर्यो

काठमाडौं, माघ २ । सरकारले आज तोक्ने भनिएको सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र नतोक्ने भएको छ । आज दिउँसो साढे ४ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषद बैठक आवश्यक तयारी नपुगेको भन्दै नबस्ने भएपछि प्रदेश प्रमुख र अस्थायी केन्द्र नतोक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।
मन्त्रिपरिषद बैठक भोली बिहान ९ बजे बस्ने उनले जानकारी दिए । निर्वाचन आयोगले बिहीबारसम्ममा प्रदेश प्रमुख नतोके आउँदो २४ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेका थिए ।

राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय देउवा आफैले गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको छ ।
राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको छ ।








