आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, माघ २१ । स्वाभिमानलाई प्राथमिकता देऊ : नेपाल समाचारपत्र

एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार हुने निधो भएपछिको अवस्थालाई आफ्नो मुलुक र सरकारले सकारात्मकरूपमा लिएको सन्देश भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणले दिएको छ ।

यही आशयका साथ स्वराजले भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहनुभएका एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य दलका नेतासँग भेटवार्ता गर्नुभएको छ । नयाँ सरकार गठन हुनुअगावै हुनेवाला प्रधानमन्त्री र सत्तामा सामेल हुने र हुन सक्ने दलका नेतासँग भएको भेटवार्तामा स्वराज भ्रमण केन्द्रित बन्यो ।

यो भ्रमणले दुवै मुलुकबीच विगतमा देखिएको खटपटको अवस्थालाई बिर्सिएर नयाँ सम्बन्ध अघि बढाउने भारतले प्रष्ट संकेत गरेको छ ।

नेपालसँगको सम्बन्ध सुधार्नुपर्ने बोध मोदीलाई मात्र थिएन, भारतबाट पनि मोदीलाई दबाब थियो र छ । उपयुक्त अवसरको खोजीमा रहनुभएका मोदीले आफ्नो सरकारको स्वार्थलाई प्राथमिकतामा राखेर पछिल्लो कदम चाल्नुभएको छ । यो कदम ओली र मोदी दुवैका लागि आवश्यक थियो ।

स्वराज भ्रमणले सम्बन्ध कुन हदसम्म सुध्रियो भन्ने संकेत नयाँ सरकार गठन भएपछि देखिनेछ । सम्बन्ध सुधारका लागि यो भ्रमण नै पूर्ण नहुन सक्छ । त्यसैले नयाँ सरकार र अन्य दलका नेताले मुलुकका मुख्य एजेन्डा र स्वाभिमान प्राथमिकतामा राखेर भारतीय पक्षसँग संवाद र भेटवार्ता अघि बढाउनु उत्तम हुनेछ ।

कूटनीतिक अनुकूलताको आरम्भ : कान्तिपुर 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा निर्वाचित सरकार बनिनसक्दै विदेशमन्त्रीलाई उच्चस्तरीय टोलीसहित काठमाडौं पठाउनुले उनी छरछिमेकमा नयाँ सिराबाट सम्बन्ध विस्तार गर्न कति हतारिएका छन् भन्ने देखाउँछ ।

खासगरी नेपालसँग बिथोलिएको सम्बन्धलाई पुनस् पुरानै लयमा फर्काउने दिल्लीको चासो र चिन्ता पछिल्ला महिनाहरूमा अरू बढेको छ ।

नेपालले संविधानसभाबाट जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै फ्याँकेको नाकाबन्दीको ‘ब्रह्मास्त्र’ विफल भएपछि भारतले कार्यनीतिगत बदलाव ल्याएको हो । त्यही शृंखलामा उसले विदेशमन्त्री सुष्मा स्वराजको चौबीस घण्टे काठमाडौं भ्रमणपश्चात् जारी गरेको वक्तव्यमा नेपालले नयाँ संविधानअन्तर्गत तीन चरणको चुनाव सम्पन्न गरेपछि राजनीतिक संक्रमणको लामो कालखण्ड पूरा गरेको र अब उसले विकासको गति पक्रनुपर्ने सन्देश दिएको छ ।

नेपाली राजनीतिज्ञहरूले यसलाई सकारात्मक रूपमा लिनुपर्छ, तर विगतमा झैं दुर्घटना नदोहोरियोस् भन्नेमा विशेष चनाखो हुनुपर्छ । भारतीय पक्षले नयाँ सिराको सहकार्यका लागि जुन किसिमको तत्परता देखाएको छ, नेपालले पनि त्यहीअनुरूप कूटनीतिक कौशल बढाउनुपर्छ ।

खासगरी भावी प्रधानमन्त्रीका रूपमा हेरिएका केपी शर्मा ओलीले दुवै छिमेकीसँग सहकार्यका समानान्तर सूत्रहरू पहिल्याउनुपर्छ, ताकि मुलुकले चाँडै विकासको गति लिन सकोस् । हाम्रा दुवै छिमेकी विकासविरोधी पक्कै होइनन्, तर उनीहरूलाई विश्वासमा लिएर अगाडि बढ्ने परिपक्व नीति भने नेपाली नेतृत्वले अवलम्बन गर्न सक्नुपर्छ ।

स्थानीय तहमा तत्काल कर्मचारी पठाउ : नागरिक

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि भनी सरुवा गरेका एक हजार ६ सय कर्मचारीमध्ये अधिकांश अझैसम्म कार्यक्षेत्रमा नपुगेको जुन तथ्य सार्वजनिक भएको छ, यसबाट कर्मचारीले सरकारलाई अटेरी गरेको प्रस्टै भएको छ ।

अझ ती कर्मचारी काठमााडेंमै बसेर हाजिर गरिरहेको कार्यले कर्मचारीतन्त्रमा अराजकताको चरम रुप रहेको देखिन्छ ।

एकातिर स्थानीय तहमा कर्मचारी अभावले कामकारवाही ठप्प हुने अर्कोतिर मन्त्रालयले खटाएका कर्मचारी कार्यक्षेत्रमा नजाने प्रवृत्तिले कर्मचारी प्रशासनले संघीय व्यवस्थालार्य आत्मसात् गर्न नसकेको देखिन्छ ।
कार्यक्षेत्रमा खटाएका कर्मचारी त्यहाँ नगएको अवस्थामा सरकारले कारवाही गर्न सक्नुपर्छ ।

एकातिर स्थानीय तहमा कर्मचारी अभावले कामकारवाही ठप्प हुने अर्कोतिर मन्त्रालयले खटाएका कर्मचारी कार्यक्षेत्रमा नजाने प्रवृत्तिले कर्मचारी प्रशासनले संघीय व्यवस्थालाई आत्सात् गर्न नसकेको देखिन्छ ।

कूटनीतिक अपरिपक्वता : नयाँ पत्रिका 

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने नेपाल भ्रमण सकेर फर्केपछि पनि उनको भ्रमणका तरंगहरूले नेपाली राजनीतिमा घुरमैलो रंगको तुवाँलो उठाइरहेका छन् । यसपालि उनको भ्रमणले सामान्य कूटनीतिक परम्पराका कतिपय सीमा भत्काउँदै भएको थियो ।

पहिलो त यो भ्रमण नेपाल सरकारलाई सूचना दिएर भएको थियो, नेपालतर्फको निमन्त्रणालाई पर्खिएको थिएन । दोस्रो, कुनै पनि भारतीय सरकारका प्रतिनिधिले नेपाल भ्रमणमा आएपछि सरकारका औपचारिक प्रतिनिधिभन्दा बाहिर रहेका दलका नेता र प्रतिनिधिसँग प्राथमिकता दिएर भेटेको र सरकारसँग भने केवल औपचारिकताका लागि भेटघाट गरेको देखिएको पनि पहिलोपटक नै हो ।

पुरानो सरकार कामचलाउ भएको र नयाँ सरकार नबनेको सन्ध्याकालमा भएको यो भ्रमणको भारतीय उद्देश्य पनि निकै हदसम्म प्रस्ट भएकै हो ।

भारतीय सरकार र प्रधानमन्त्री मोदी यसअघिका आफ्ना गलत गोरेटोबाट फर्केर भावी प्रधानमन्त्री ओलीसँग सामान्य कामकाजी सम्बन्ध कायम गराउन चाहन्छन् तथा वाम गठबन्धनको सरकार चीनतिर बढी नढल्कियोस् भन्ने मनसुवा राख्छन् ।

यसैले यसमा भारतीय पक्षका धारणालाई नकारात्मक रूपले लिनुपर्ने कारण देखिन्न । नेताहरूसँग भित्रभित्र एक्लाएक्लै भेटमा केकस्ता संवाद भए भन्ने पछि नै थाहा होला । तर, यसपटकको भ्रमणमा फेरि नेपाली कूटनीतिको पक्ष कमजोर र फितलो देखिनुचाहिँ गम्भीर चिन्ताको विषय हो ।

विदेश मन्त्रालयका आधिकारिक प्रतिनिधिको उपस्थितिमा मात्र गरिनुपर्ने र कमसेकम अभिलेख राखिनुपर्ने यस्ता वार्ताको यता कुनै अभिलेख नै नरहनु कूटनीतिक अपरिपक्वता हो । देशप्रति एक प्रकारको अविश्वास र धोका हो । नेपाली नेतृत्ववर्गले यस्तो गलत बानी-व्यहोरा सुधार्नैपर्छ ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =