दोस्रो चरणको निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुरु, उम्मेदवारहरु जुलुससहित जाँदै

कात्तिक १६, काठमाडौं । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रत्ययक्षतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । उम्मेदवारहरु जुलुससहित मनोनयनपत्र दर्ता गराउन जानेक्रममा रहेको बुझिएको छ ।

उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।

प्रमुख राजनीतिक दलले उम्मेदवार छनोटमा ढिलाइ गरेका कारण कतिपय स्थानमा उम्मेदवारलाई मनोनयन गर्न आवश्यक कागजात मिलाउन हतारो भएको छ ।

मनोनयनपत्र पेश गर्दा वा गराउँदा एकजनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सही छाप गरेको हुनुपर्नेछ । त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति हुनुपर्नेछ । निजले आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको निस्सासमेत मनोनयनपत्र साथ संलग्न गरेको हुनुपर्नेछ ।

कुनै व्यक्तिको मनोनयनपत्र पेश गर्दा वा गराउँदा फरकफरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र पेश गर्न वा गराउन सकिनेछ । प्रस्तावित व्यक्तिले मनोनयन पत्रमा आफ्नो मञ्जुरी लेखी सहीछापसमेत गरेको हुनुपर्नेछ ।

दलले आफ्नोतर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहका समितिको पदाधिकारीको हस्ताक्षरसहितको औपचारिक पत्र आवश्यक पर्ने छ । एकल चुनाव चिह्न लिई संयुक्तरुपमा निर्वाचनमा सहभागी हुने दलहरुको तर्फबाट औपचारिकपत्रमा दस्तखत गर्न अलगअलग पदाधिकारीको दस्तखत नमूना पेश गर्नुपर्ने छ ।

दलका तर्पबाट उम्मेदवार हुने व्यक्तिको हकमा रित नपु¥याई मनोनयनपत्र दाखिला भएमा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन । नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपी पनि मनोनयनपत्रका साथ पेश गर्नुपर्नेछ ।

उम्मेदवारको मनोनयनपत्र पेश गर्दा प्रतिनिधिसभा सदस्यका लागि रु १० हजार र प्रदेश सभा सदस्यका लागि रु पाँच हजार लाग्नेछ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । धरौटी राख्दा निर्वाचन अधिकृतको कार्यालयमा नगद दाखिला गरी सोको नगदी रसिद वा आयोगले तोकेको धरौटी खातामा रकम जम्मा गरिएको सक्कल बैंक भौचर मनोनयनपत्र साथ पेश गर्नुपर्नेछ ।

दोस्रो चरणको निर्वाचन हुने जिल्लामा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ को सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर छन् ।

त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा, र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले आज मनोनयन दर्ता गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदतालाई मतदानको अधिकार रहेको छ ।

प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =