‘पहिलो पटक प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दा’


मैले वैदेशिक रोजगार म्यादि जीवन बिमा सम्बन्धी विविध १३ वटा व्यवस्था डिजाइन गरेर तयारी अवस्थामा राखेको थिँए । कुनै दिन प्रधानमन्त्री प्रचण्डबाट अचानकै सार्वजनिक गराउने योजना डा. ऋषिराज अधिकारी (प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार) र मेरो थियो । माघ ११ गते ३ बजे पत्रकार सम्मेलन गर्ने तय भयो । मैले अघिल्लो दिन नै मिडियालाई बोलाउन समेत जानकारी गराई सकेको थिए, प्रेस सल्लाहकारको सचिवालयमा ।

मिडियालाई जानकारी भैसकेपछि प्रधानमन्त्री ज्युको सम्पर्क शाखा (कन्ट्रोल) बाट पत्रकार सम्मेलन स्थगित गर्नुपर्ने भयो भन्ने जानकारी आयो । प्रधानमन्त्री ज्युले पत्रकार सम्मेलन गर्नुअघि सरोकारवाला मन्त्रालयका मन्त्रीहरु सँग छलफल गर्न खोज्नु भएको रहेछ । मैले मिडियालाई बोलाई सकेको जानकारी कन्ट्रोललाई गराए । केही समय पछि फेरि प्रधानमन्त्री ज्युबाट सरोकारबाला मन्त्रीहरुलाई डाकेर पूर्व तयारी छलफल गर्ने तय भएको जानकारी आयो ।

म त तयार नै थिए । मैले बिमा समितिले गर्ने विषयमा पनि उसको लिखित सुझाव मागेको थिँए । त्यो पनि थियो म सँग । प्रधानमन्त्री ज्युलाई कन्भिन्स गर्न म सँग पर्याप्त जानकारी र स्रोत थियो ।

अचानक बिहान ११.३० मा छलफल डाकियो । छलफलमा प्रधानमन्त्री ज्यु आफै हुनुहुन्थ्यो भने परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङ, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी, म, श्रम सचिव, परराष्ट्र र गृहका उच्च अधिकारी समेत हुनुहुन्थ्यो ।

ब्रिफिङ सुरु गर्न प्रधानमन्त्री ज्युले आदेश दिनु भो । डा. ऋषिराज अधिकारीले ब्रिफिङको विषय मात्रै उठाएर बाँकी विषय बुदाँगत रूपमा ब्रिफिङ गर्न मलाई भन्नु भयो । कसले कसरी प्रमलाई ब्रिफिङ गर्छन्, यस अघि मलाई थाहा थिएन । विषय मैले तयार पारेकोले ब्रिफिङको जिम्बेवारी मैले नै पाए ।

पर्‍यो आपत्, प्रधानमन्त्री ज्युलाई हेर्दै डर लाग्ने । यस अघि कहिल्यै ब्रिफिङ गरेको थिइन । म त मङ्सिरमा मात्रै प्रधानमन्त्री कार्यालयको परराष्ट्र शाखामा गएको थिँए ।

तर पनि, प्रधानमन्त्री सामु आफ्नो क्षमता देखाउन पाएको राम्रो अवसरलाई खेर जान दिइन । र, ब्रिफिङ सुरु गरे । ब्रिफिङमा मैले प्रधानमन्त्री ज्युलाई ‘सर’ भनेर सम्बोधन गरेको याद छ ।

ब्रिफिङ गर्दा प्रस्तावित व्यवस्था किन आवश्यक थियो, त्यो अर्थपुर्ण तरिकाले बुझाउनु पर्ने दबाब हुन्छ । नत्र राम्रो व्यवस्था पनि बुझाइको कमीले खारेज हुने र आफ्नो असक्षमता पनि देखिने डर हुन्छ ।

पहिलो बुँदा ब्रिफिङ गरिसकेपछि त्यसमा उठेका जिज्ञासाको समाधान पनि मैले नै गर्नु पथ्र्यो । एक पछि अर्को बुदाँमा ब्रिफिङ गर्दै जिज्ञासा समाधान गर्दै गए । कसैले विपरीत प्रतिक्रिया दिनु भएन । प्रधानमन्त्री ज्युले त ‘राम्रो राम्रो’ मात्रै भनी रहनु भयो ।

तेस्रो बुदाँमा भारत जाने कामदारलाई वैदेशिक रोजगारको मान्यता दिँदै फाल्गुण १ गते देखि बिमा र बोर्डबाट कम्तीमा १४ लाख ५० हजारको बिमा गराउने प्रस्ताव थियो । यसका बारेमा मैले डाटा सहित दमदार तरिकाले ब्रिफिङ गरे । प्रधानमन्त्री ज्युले त राम्रो भन्दै हुनुहुन्थ्यो । तर, परराष्ट्रमन्त्रीले यो व्यवस्था लागु गर्नु अघि अध्ययन गर्नुपर्ने तर्क दिनु भयो ।

मेरो तर्क थियो बिमा समिति बिमा गर्न तयार छ । कामदार बिमा गर्न तयार छन् भने हामीले किन रोक्ने ? र, पनि उहाँ मान्नु भएन । त्यसपछि प्रधानमन्त्री ज्युले पनि मन्त्रीको प्रस्ताव बमोजिम कार्यदल बनाएर २ महिना भित्र लागु गर्नेगरि व्यवस्था मिलाउन भन्नु भयो ।

तर, त्यसपछि कार्यदल पनि बनेन, बिमा पनि भएन । मैले सबैभन्दा महत्त्वपूर्ण मानेको भारत रोजगारीको कुरा तुहियो । कान्तिपुर, नागरिक, अन्नपूर्ण जस्ता सबै मिडियाहरुले भारत रोजगारीको व्यवस्थाका बारे प्रशंसा गर्दै समाचार र सम्पादकीय नै लेखेका थिए ।

अन्य बुदाँमा क्रमैसँग ब्रिफिङ गर्दै गए । कहीँ कतै प्रतिक्रिया आएन । प्रधानमन्त्रीले बडो गंभिरतापुर्वक सबै ब्रिफिङ सुन्नु भयो । बिमाले प्रस्तावित समय मै कार्यान्वयन गर्न सकिने प्रतिबद्धता गरेर पठाएको पत्रको सक्कलै प्रधानमन्त्रीलाई देखाए । ‘ए गज्जब, बिमाले पनि गर्छु भनेको रहेछ’ उहाँको प्रतिक्रिया थियो ।

मैले करिब एक घण्टा ब्रिफिङ गरे होला । सबैले ‘राम्रो ब्रिफिङ गर्नु भयो’ भनेर तारिफ गर्नु भयो । सबैको सहमति जुट्यो । त्यही दिन ३ बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलनबाट वैदेशिक रोजगार म्यादि जीवन बिमा सम्बन्धी व्यवस्थाको घोषणा गर्नु भयो । घोषणामा आएका सबै कुरा मेरो अध्ययनको नतिजा, मेरो सोच थियो ।

मलाई गर्व छ, त्यो सम्बोधनबाट कामदारले २७ लाख सम्म क्षतिपुर्ति पाउने, घातक रोगको रक्षाबरण, करार अवधिमा एक वर्ष थप, जेलमा रहेका नागरिकको लागि वकिल राख्ने सबै खर्च सरकारले ब्यहोर्ने, करार अवधिको आधारमा कल्याणकारी कोषमा सहभागिता तथा श्रम स्वकृतिको म्याद गुज्रेपछि मृत्यु भएका नागरिकले पनि राहत पाउने लगायतका थुप्रै व्यवस्था आयो ।

बाँकी फेरि….

ढुङ्गाना रेडियो कान्तिपुरमा सुरक्षित बैदेशिक रोजगार कार्यक्रम सञ्चालन गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =