यी पाँच सुत्केरी: जसलाई बचाउन सकिन्थ्यो (भिडियाे रिपाेर्ट समेत)

२०७४ असोज, कात्तिक र मंसीरमा भरतपुर अस्पतालमा सुत्केरी गराउन आएका पाँच महिलाको ज्यान गयो । उनीहरू २१ देखि २८ वर्षसम्मका थिए । यो मृत्युबारे अस्पतालले औपचारिक रूपमा केही भनेको छैन । बरु सकेसम्म तथ्यहरू लुकाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनीले उल्टै हप्कीदप्कीको भाषा प्रयोग गरे । उनले भने, “जसरी मरे पनि तपाईंहरूलाई बताउन आवश्यक छैन । तपाईंहरूलाई बताउनुपर्छ भन्ने कहाँ लेखेको छ !”
केही साताको अनुसन्धानपछि हामी स्वास्थ्य मन्त्रालयका उच्च सूत्रहरूको सम्पर्कमा पुग्यौं । त्यसपछि हामीलाई भरतपुर अस्पतालमा गम्भीर चिकित्सकीय लापर्वाही र व्यवस्थापकीय कमजोरीहरू थिए भन्ने थाहा भयो । यस बीचमा अस्पताल स्वयंले गरेको गोप्य समीक्षा रिपोर्ट पनि हाम्रो हात प¥यो । त्यसमा भनिएको छ, “उनीहरू सबैलाई बचाउन सकिन्थ्यो ।”
‘मर्न नपर्ने पाँच महिला’
सुत्केरी हुन चितवनको भरतपुर अस्पताल गएकी सर्लाही वागमतीकी २६ वर्षीया विना अधिकारीको ८ असोज, चितवन गुञ्जनगरकी २२ वर्षीया सुनु भुजेलको २६ असोज, प्रेमबस्तीकी २१ वर्षीया सुरुची सुवालको २० कात्तिक, नवलपरासी देवचुलीकी २८ वर्षीया शोभा चापागाइँको ४ मंसीर र चितवन गौरीगञ्जकी २२ वर्षीया केशिया महतोको १२ मंसीर मृत्यु भएको थियो ।
यी मृतकका परिवारलाई अस्पतालले उनीहरूलाई ‘कहीं लगे पनि बचाउन सकिन्नथ्यो’ भन्ने जवाफ दिएर घर पठाएको थियो । अस्पताल प्रशासनले परिवारका सदस्यलाई दिएको जानकारी अनुसार ती सुत्केरीहरूको ज्यान जानुमा अस्पतालको कुनै कमजोरी थिएन । बरु उनीहरूकै स्वास्थ्यमा गम्भीर खराबीले यस्तो दुःखद् परिणाम आएको हो ।

तर तीन महीना भित्र अस्पतालमा सुत्केरी गराउन आएका यी आमा र तिनका बच्चाकोे मृत्युबारे अस्पताल भित्र त्रास फैलियो । यसपछि उसले आन्तरिक रूपमा गोप्य समीक्षा ग¥यो । समीक्षाको निष्कर्ष गम्भीर निस्कियो । त्यसमा भनिएको छ, “उनीहरूको मृत्यु हुनुमा अस्पतालकै कमजोरी छ, सबैलाई बचाउन सकिन्थ्यो ।”
ज्यान गुमाएका प्रत्येक महिलाको व्यक्तिगत समीक्षापछि अस्पतालले परिवार स्वास्थ्य महाशाखा, काठमाडौंमा पठाएको मृत्यु समीक्षा फारम (डेथ रिभ्यू फर्म) ले बचाउन सकिने ती सुत्केरी महिलाको मृत्यु अस्पतालकै कमजोरीले भएको पुष्टि गर्छ ।
खोज पत्रकारिता केन्द्र लाई प्राप्त ती प्रमाणअनुसार ‘गौरीगञ्जकी केशिया, प्रेमबस्तीकी सुरुची र सर्लाहीकी विनाको अस्पतालका विभिन्न विभागका चिकित्सकको बीचमा राम्रो समन्वय र आन्तरिक सञ्चार नहुँदा मृत्यु भएको’ भनेर अस्पतालले स्वीकारेको छ ।
शल्यक्रियापछि होशमा आइसकेको अवस्थामा अकस?








