पोर्चुगल र मेक्सिकोले २-२ को बराबरी खेलेपछि

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत हिजो राति भएको समूह ‘ए’ को दोश्रो खेलमा पोर्चुगल र मेक्सिकोले २-२ को बराबरी खेलेका छन् । खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो ।

पहिलो हाफको ३६ औं मिनेटमा रिकार्डो करेज्माले गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए । तर, जाभिएर हर्नान्डेजले पहिलो हाफको ३ मिनेट समय बाँकी हुँदा बराबरी गोल फर्काएपछि पहिलो हाफ खेल बराबरीमा रोकियो ।

दोश्रो हाफमा पाएको अवसरहरु सदुपयोग गर्न नसक्दा खेल बराबरी तर्फ लम्केको अवस्थामा सेड्रिक सोआरेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले जेल्सन मार्टिन्सको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । तर, खेलको दोश्रो हाफको इन्ज्युरी समयमा फ्रिकिकबाट आएको क्रसमा हेडर मार्फत गोल गर्दै हेक्टर मोरेनोले खेल पुन: बराबरीमा ल्याएका थिए ।

यसअघि खेलको पहिलो हाफको दौरानमा पोर्चुगलको गोल भिडियो रिप्लेको आधारमा फिर्ता लिइएको थियो । रोनाल्डोको फ्रिकिकमा फर्केर आएको बलमा पेपेले गरेको गोल रेफ्रीले मानेपनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए ।

बराबरीसँगै दुवै टोलि १/१ अंक लिएर दोश्रो स्थानमा रहेका छन् । पहिलो खेलमा रसियाले न्युजिल्याण्डलाई २-०ले पराजित गर्दै समुहको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =