भरतपुर मतगणना स्थल वरपर निषेधित क्षेत्र घोषणा


जेठ, २१, भरतपुर । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको मतगणना स्थल वरपरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । चितवन जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलता बढेको भन्दै निषेधित क्षेत्र घोषणा गरेको हो ।
मतगणनास्थल वरपरका ठाउँहरु निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा भरतपुर जिल्ला प्रहरी कार्यालय, हस्पिटल रोड, जिल्ला समन्वय समिति, जिल्ला अस्पताल, जिल्ला अदातल, मालपोत कार्यालय, कारागारलगायत मुख्य प्रशासनिक निकायहरु पर्दछन । प्रशासनिक निकाय वरपर नै निषेधित क्षेत्र घोषणा गरिएको हो । अर्को सूचना प्रकाशित नभएसम्म आइतबारदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो ।
भरतपुरको कभर्ड हलमा भरतपुर महानगरपालिकाको मतगणना गरिएको थियो । मतगणनाको क्रममा वडा नं १९ को मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको छ । पुनः मतदानको विपक्षमा एमाले उभिएको छ । कभर्ड हलमै सम्पूर्ण मतपत्र रहेको छ । सुरक्षा चुनौती थपिन सक्ने भन्दै सो क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।








