सुनसरीको मुसहर बस्तीमा भिषण आगलागी, २५ घर जलेर नष्ट

मंसिर ११, इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहर बस्तीमा आइतबार साँझ आगलागी भएको छ । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।
आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिए । मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले तत्काल राजपा नेपालका नेता तथा सो क्षेत्रका उम्मेदवार रामनारायण यादवले राहत प्रदान गरेका थिए ।
यादवले प्रतिपरिवार एक बोरा भुजा, च्युरा, तरकारी, नून, भुजियालगायतका राहत सामग्री वितरण गरका राजपाले जनाएको छ । यसैगरी वडा कार्यालयले साँझ प्रतिपरिवार एक बोराका दरले चामल, नून, तरकारी, एक बोरा भुजा, पाँच केजीका दरले च्युरा, एक लिटरका दरले खाने तेल, दुई केजी दाल, पाँच केजी आलुलगायतका राहत सामग्री वितरण गरेको वडा कार्यालयका रामचन्द्र यादवले जानकारी दिए ।
स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।








