दार्इलार्इ सजाय दिइन भार्इलार्इ न्याय

असोज २५, मोरङ । दाजुसँगै पानी लिन गएको छोरो एक्कासि कुद्दै घर फर्किएको देखेर आमा झस्किइन् । तर, उनले जति सोध्दा पनि छोराले के भयो भनेर भन्नै मानेनन् । त्यसको भोलिपल्ट उनकी दिदी रीताले एकान्तमा लगेर फकाएर सोधिन् । बल्ल बालकले सबै कुरा खोले । भाइको कुरा सुन्दा रीता झसङ्ग भइन् ।

दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अङ्ग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा भाइले सुनाएपछि रीताको होसहवास उड्यो । यस्तो क्रियाकलाप दाजुले धेरै अगाडिदेखि गर्ने गरेको भाइले उनलाई सुनाए ।

सानै उमेरदेखि बाल क्लबमा आबद्ध भएर बालअधिकारको वकालत गर्दै आएकी रीता आफ्नै घरमा यस्तो घटना आइपर्दा के गर्ने होला भनी अलमलमा परिन् । एकातर्फ पीडित बनेको भार्इ, अनि अर्कोतर्फ अपराधी दार्इ । रीतालाई सङ्कट पर्‍यो । उनी रातभर निदाउन सकिनन् ।

अन्ततः उनले केही मिल्ने साथीहरूलाई यो घटनाबारे सुनाइन् । भोलिपल्ट बिहान उनले अपराधी आफ्नै दाजु किन नहोस्, सजायँ पाउनुपर्ने निचोड निकालिन् । त्यसपछि उनी मोरंग जिल्ला बाल कल्याण समितिको कार्यालय बिराटनगरमा पुगिन् । त्यहाँ उनले दाजु कृष्ण धिमालद्वारा आफ्नो भार्इमाथि भएको अप्राकृतिक यौन दुर्व्यवहारको उजुरी साउन २३ गते दर्ता गराइन् । उजुरी दर्ताको केही दिनपछि इलाका प्रहरी कार्यालय केराबारीबाट आएको प्रहरी टोलीले कृष्णलाई पक्राउ गर्‍यो । प्रहरीले अभियुक्तलाई इलाका प्रहरी कार्यालय बेलबारी पठायो ।

‘वन रक्षक’ले गरे जंगली व्यवहार !

एउटा घटनाको छिनोफानो भइनसकी रीताकै घरमा फेरि अर्को घटना दोहोरियो । सानो नानी हेर्ने बहानामा उनकी ९ बर्षीया भदैनीमाथि त्यसै गाउँका ६८ वर्षीय केशवप्रसाद खतिवडाले यौन दुर्व्यवहारको प्रयास गरे । गाउँमा पुरोहितको काम समेत गर्ने एवं वृद्धभत्ता खाने उमेर पुग्न लागेका खतिवडाले पहिलादेखि नै यस्तो हर्कत गर्दै आएको भदैनीले सुनाएपछि तत्काल इलाका प्रहरी कार्यालयमा फोन सम्पर्क गरियो ।

खबर पाएपछि सोही दिन बेलुका खतिवडा पक्राउ परे । भाइमाथि भएको दुर्व्यवहारविरुद्ध लडिरहेकी रीतालाई अर्को घटनाले थप तनाव उत्पन्न गरायो । उजुरी दर्ता गराई घर फर्कँदा गाउँलेहरूले उनलाई उल्टै हेय दृष्टिकोणले हेर्ने गरेको पाइन् । सुनसरीको धरानसँग जोडिएको दुर्गम गाउँ आँपटारमा बस्ने एउटा निम्नवर्गीय परिवारकी रीतालाई उजुरी दर्तादेखि बयान दिनका लागि बारम्बार सरकारी कार्यालयमा धाउन गाह्रो परिरहेको थियो ।

गाउँलेहरूको फरक व्यवहार पाएपछि उजुरी गरेर गल्ती गरियो भन्ने निस्कर्षर्मा उनका परिवारका सदस्यहरू पुगिसकेका थिए । बाटोमा हिँड्दा गाउँलेहरूले नानाथरी भन्दै जिस्काउने र गाली बेइज्जत गर्न थाले । त्यस बेला आफूले एक्लो महसुस गरेको र रातमा धेरै पटक रोएको रीता बताउँछिन् । विद्यालय गएर फर्किँदा बाटोमा धेरैले उनलाई ‘वकिल’, ‘नेता’ जस्ता उपनाम दिने काम गर्न थालेकोमा उनी चिन्तित बनिन् । अपराधीलाई कारबाही गराउने उनको प्रयासमा बाधक बनेे उनकै समाज र सामाजिक संघसंस्थाहरु । जसले बारम्बार उनलाई फकाउने र उजुरी फिर्ता लिन दबाब दिइरहे ।

उजुरी फिर्ता गराउन स्थानीय सामुदायिक वनको आयोजनामा गाउँ भेलासमेत बोलाइयो । वन रक्षक रहेका पीडक खतिवडालाई सामुदायिक वनको ठुलो सहयोग प्राप्त भइरहेको थियो । उक्त भेलामा रीता र पीडित भदैनीकी आमालाई मात्रै उपस्थित गराइयो । गाउँका गन्नेमान्ने, शिक्षक, वन समिति सदस्यहरू एकातर्फ लागेर गाउँको घटना लेनदेन गरी मिलाउनुपर्छ भन्दै दबाब दिए ।

तर, बाल क्लबमा काम गरेकी रीता पछि हटिनन् । अपराधीलाई सजाय दिलाएरै छाड्ने अठोटमा कायम रहिन् । त्यसपछि उपस्थित सबैले उनको परिवारलाई बहिष्कार गर्ने तथा गाउँ निकाला गर्ने कुरा गर्न थाले । आफ्नै गाउँ समाजबाट यस्तो खालको धम्की आएपछि रीताले न्याय पाउने आस मारिसकेकी थिइन् । जिल्ला बाल क्लब सञ्जाल सुनसरीमा दुई वर्ष उपाध्यक्ष रहेकी रीताको चिनजान मोरङका साथीहरूसँग पनि थियो । उनले घटनाको जानकारी मोरङमा बालबालिकाको क्षेत्रमा काम गरिरहेका केही साथीहरूलाई सुनाइन् ।

अस्मिता भट्टराई, प्रमिस राई, नवीन राई, भीमराज अधिकारी, सुरेन्द्र घिमिरे लगायतले रीतालाई साथ दिए । यसबाट सिथिल बनिसकेकी रीताको मनोबल बढ्यो । परिवारमा रीता थिइन्, अनि उनको आशा साथीहरू । मोरङ बाल अधिकारकर्मीहरुको समूह उनको घरैमा पुगी परिवारलाई सान्त्वना प्रदान गर्‍यो । जसबाट परिवारलाई ठुलो हौसला मिल्यो । यस सङ्घर्षमा सिविन र जिल्ला बाल कल्याण समितिको समेत साथ रह्यो । मुद्दा अदालतमा फैसलाको समय पर्खिरहेको थियो ।

पहिलो फैसला भाइको मुद्दामा आयो । दोषी कृष्ण धिमाललाई १० वर्षको जेल सजायँ अदालतले सुनायो । अग्निपरीक्षाको पहिलो खुटि्कलो पार गरेको र अझै अर्को झनै गाह्रो खुटि्कलो पार गर्न बाँकी रहेको रीता बताउँछिन् । भदैनीमाथि भएको दुर्व्यबहारको मुद्दा कमजोर बनाउन पीडक पक्षका केही मानिस सक्रिय रहेको उनी बताउँछिन् । उनका अनुसार बजार जाँदा घरपरिवारका सदस्यलाई र स्कुल जाँदा बालिकालाई फकाउने, धम्की दिने तथा पैसाको प्रलोभन देखाउने गरेर मुद्दा फितलो बनाउने कोसिस गरिरहेका छन् । तर, पनि रीता हतोत्साही बनेकी छैनन् ।

एउटा लामो सङ्घर्षपछि यति बेला रीता समाजका निम्न तथा मध्यम वर्गीय परिवारका लागि आशाको किरण बन्दै गरेको देख्न सकिन्छ । समाजमा भैरहेका अन्य हिंसाजन्य अपराधहरुका विषयमा गाउँलेहरू रीतालाई सोध्न थालेका छन् । उनी अहिले आँपटार गाउँकी मार्गनिर्देशक बन्न पुगेकी छिन् । आगामी कार्तिक पहिलो हप्ता मुद्दा फैसला हुँदा बालिकाको बयानलाई अदालतले कसरी हेर्छ, रीता सुन्न लालायित छिन् ।

स्रोत : अनलार्इन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =