४० औं प्रधानमन्त्री बन्दै शेरबहादुर देउवा

जेठ २३, काठमाडौं । व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दैछ ।
देशको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेक कसैको पनि उम्मेदवार नपरेकाले उनी बिना प्रतिस्पर्धा प्रधानमन्त्री बन्दैछन् । देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमाले संसद अवरोध हटाउन सहमत भएपछि प्रधानमन्त्री निर्वाचनको बाटो खुलेको हो । संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

पहिलो बैठकलाई प्रमुख तीन दलका शीर्ष तीन नेताले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ । लगत्तै सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिको पत्र र प्रधानमन्त्री निर्वाचनको प्रक्रियाबारे जनकारी गराउनेछिन् ।

आजै दोस्रो बैठक बस्नेछ र प्रधानमन्त्रीको निर्वाचन हुनेछ । संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

देउवाको राजनीतिक यात्रा

शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए । काँग्रेसको पुनर्मिलन पश्चात उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका थिए । देउवा तीन पटक प्रधानमन्त्री भइसकेका छन् । २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालेका छन्। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघका प्रथम सभापति हुन् ।

राजनैतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा ‘असक्षम’को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस ‘प्रजातान्त्रिक’को गठन गर्नु गरेका थिए । पछि पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजा प्रसाद कोईरालाको पहलमा २०६४ सालमा सो पार्टीको एकीकरण भयो र देउवा बरिष्ठ नेतामा स्थापित भए ।
प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउँछन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो समेत हुन्।
देउवाका एक छोरा र श्रीमति डा. आरजू राणा (देउवा) रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =