सुडान घोटालामा दोषी ठहरिएका पूर्वप्रहरी प्रमुख जेल चलान

७ असार, काठमाडौं । सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको हो । उनीहरू सुडान घोटाला प्रकरणमा दोषी पाइएका अभियुक्त हुन् ।

बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई जेल चलान गरिएको छ । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।
सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।
पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । भने, अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको छ ।पूर्व प्रहरी प्रमुख रमेशचन्द ठकुरी भने पक्राउ परेका छैनन् ।
त्यस्तै श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको छ ।








